मान गुरुङ
अल्डरसट । गत शनिबार २८ अप्रिल २०१८ का दिन अल्डरसटमा टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
गोर्खा नेपाली टेनिस एशोसिएसन युकेले अल्डरसटस्थित टेनिस क्लबमा सो खेल आयोजना गरेको हो । ३३ जना खेलाडीहरुले भाग लिएको प्रतियोगिताको ओपन ‘ए’ तर्फ ओरक राई विजयी भए भने तारामान गुरुङ उपविजेता बने । ओपन ‘बी’ तर्फ खुम थापा बिजयी भए भने मिन पुन उपविजेता बने । त्यस्तै, भेटे«न ‘ए’ समूहतर्फ नवराज गुरुङ विजयी भए भने मोति घले उपविजेता बने । त्यस्तै, भेटे«न ‘बी’ समूहतर्फ रविन्द्र गुरुङ विजेता बने भने प्रेम राई उपविजेता भए ।
खेलपश्चात् विजयी खेलाडीहरुलाई एशोसिएसनका अध्यक्ष हर्कबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । स्मरण रहोस्, बिजेता ओरक राई १५ वर्षका छन् । एशोसिएसनका महासचिव समेत रहेका मेजर सरोज राईका छोरा ओरक व्यावसायिक टेनिस खेल्नका लागि स्पेन जाँदैछन् ।
शरीरलाई तन्दुरुस्त, मन र मस्तिष्कलाई शान्त बनाउन मद्दत पुर्याउने उद्देश्यका साथ गठन भएको एशोसिएसनले युकेका विभिन्न स्थानमा खेलहरु आयोजना गर्दै आएको छ ।
त्यस्तै, एशोसिएसनले आगामी ७ जुलाई २०१८ का दिन सोही मैदानमा टेनिस खेलको आयोजना गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनले सो दिन उत्कृष्ट खेलाडीहरुले आ–आफ्नो खेल प्रदर्शन गर्नेछन् भने उनीहरुले नयाँ खेलाडीहरुलाई समेत प्रशिक्षण गराउने बताए । साथै उनले बालकदेखि वृद्धहरुलाई सो खेलमा उपस्थित हुन अनुरोध गरे ।
एशोसिएसनका सचिव मोहन गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष मोती घलेले आय–व्यय प्रस्तुत् गरेका थिए ।
लङ्ग टेनिस एशोसिएसन युकेमा समेत दर्ता रहेको सो एशोसिएसनले १० पाउन्ड लिई सदस्यता बनाउँदै आएको छ ।


