नेपालीहरुकै उपथ राजनीति हो वा राजनीतिकै उपथ नेपाली नागरिक हुन भन्ने भेउ पाउन कठिन छ । नेपाली जनताले नेता बनाए वा नेताले नागरिक ? यो पनि अर्को बहसको विषय बन्नसक्छ । नेपालीले कस्ता नेतालाई उच्च तहसम्म सघाएर पुर्याए वा जिताए ? कस्तालाई साथ दिए ? भन्ने विषय सधै बहस र छलफलको विषय बन्छ । तर यसको ठ्याक्कै उत्तर पाउन कठिन छ । यो कठिनाईका बीचमा देशले पछिल्लो जनादेश पाएको छ । त्यसमा सबै दलबीचमा कतै खुशी र कतै चिन्ता पैदा गरिदिएकै छ ।
नेपाली राजनीतिमा लामो समयसम्म एकछत्र राजनीतिमा हावी हुँदै आएको दल नेपाली कांग्रेसलाई यसपटक नराम्ररी साइजमा पुर्यायो । त्यो नागरिककै बलले हो । बाम गठबन्धन एक भएकै आधारमा मात्र नेपाली कांग्रेस पराजित भएको भने होइन । नेपाली नागरिकले धेरै नै पटक कांग्रेसलाई अवसर दिइसकेका हुन् । नेपाली जनताले धेरैपटक कांग्रेसको सक्कली रुप देखिसकेका हुन् । नेपाली कांग्रेसको नेतृत्वमा भएका धेरै परिवर्तन र एजेण्डाहरु जति नै फलदायी भएपनि त्यो जनताको हितमा हुन नसकेको तितो यथार्थ जनताले नभुलेकै कारण कांग्रेसलाई विगतका पछिल्ला तीन निर्वाचनमा दिएको मतले पुष्टि गरिदिएको छ ।
प्रतिनिधिसभामा अति कमजोर प्रतिपक्षको भूमिकामा अहिले नेपाली कांग्रेस छ । नेपाली कांग्रेसले यत्तिको हैसियत प्राप्त गर्ने कुरामा सोंच्नसम्म भ्याएका थिएनन् । कांग्रेसले आफैसँगको गठबन्धनमा रहेका दल माओवादी केन्द्र छुटेर एमालेसँग सहकार्य गर्न र पार्टी एकतासम्म गर्नका लागि भित्रभित्र नै खेलेको भूमिकामा कतै थाहापत्तो समेत पाएनन् । त्यसैले पनि कांग्रेसले राजनीतिको दायाँबायाँ, तलमाथि कुनै भेउ पाउन सकेन भन्दा फरक पर्दैन । त्यसैले पनि बाम गठबन्धन हुँदासमेत कांग्रेसले लोकतान्त्रिक गठबन्धनलाई सही ढंगले परिचालन र व्यवस्थित गर्न सकेननन् । जसका कारण पनि कांग्रेसको साइज सोंचेभन्दा कमजोर बन्न पुग्यो ।
अहिले कांग्रेस चुनावी समीक्षा गरिरहेको छ । समीक्षाका क्रममा त्यसको दोष पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामाथि थोपरेको छ । विशेषतः रामचन्द्र पौडेल पक्षका नेताहरु देउवाका कारण कांग्रेस पराजित भएको भन्दै देउवा कमजोर बनाउन लागिपरेका छन् । तर, देउवाको कमजोरीलाई मात्र कांग्रेस पराजित भएको आधार साँच्चै निराधार पनि हुनसक्छ । कांग्रेसभित्रको गुट र उपगुटका कारण पनि यो स्थिति बनेको हो भनेर स्वीकार्ने स्थिति नेताहरुबीचमा देखिएको छैन । यसले गर्दा पनि सबै दोष जति देउवामाथि थोपरेर पक्कै पनि कांग्रेसजन पानीमाथिको ओभानो हुन सक्दैन । विगतको समीक्षा गर्दै कांग्रेसभित्रका कमजोरी हटाउनेतिर सबै लाग्नु नै अहिले बुद्धिमानी हुन्छ । पार्टी कमजोर, त्यसमाथि एकअर्कामा दोषारोपण गरेर दुनिया हँसाउने काम पक्कै पनि राम्रो मान्न सकिँदैन ।