मोरङ । आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई टोलीले सोमबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो ।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक रहेको समेत खुलुसा भएको छ । आचार्यका अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पनि टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
हिन्दु राज्य कायम गर्न हुँदै आएको आन्दोलन सार्थक नभएपछि हिन्दुधर्मावलम्बी र धर्म गुरुहरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि आचार्यले आफै स्वयंमाथि गोली प्रहार गर्न लगाएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।






