हुम तमु
पोखरा । कला र सांस्कृतिको संरक्षण एवम सम्वर्द्धनमा क्रियाशील तरेली सांस्कृतिक परिवारले एक कार्यक्रम आयोजना गरी संस्थाका आजीवन सदस्य तथा मानार्थ सदस्यहरुलाई स्वागत र संस्थापकहरुलाई सम्मान गरेको छ।
२०५८ सालमा स्थापित भई पोखरा १०, अमरसिंहचोकमा कार्यालय रहेको तरेलीले आफ्ना करिब ५० ना आजीवन र मानार्थ सदस्यलाई स्वागत गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रा सोसाईटी कास्कीका सभापति तथा प्यावब्सनका केन्द्रीय सदस्य डोलराज पाण्डे र तरेलीका अध्यक्ष राजबहादुर गुरुङले आजीवन र मानार्थ सदस्यता वितरणसहित, संस्थापकहरुलाई सम्मानपत्र, माला र अबीर लगायत स्वागत सम्मान गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डोलराज पाण्डेले सँस्कृति राष्ट्रकै सम्पत्ति भएकाले संरक्षण र विकासका लागि राज्यसँगै सबैको पहल हुनुपर्ने बताए । विविधतालाई जोड्ने सँस्कृतिको सर्जक तरेली साँस्कृतिक परिवारलाई प्रगतिको कामना गर्दै पछिल्लो समय राज्यले सँस्कृतिको सम्मान गर्न थालेको उनको भनाई थियो। सँस्कृति संरक्षण र विकासका लागि राज्य पनि योजनावद्ध ढंगले जुट्न थालेकोमा खुशी व्यक्त गर्दै सँस्कृति समुदायकै सिर्जना र साझा फूलवारी भएको पाण्डेले बताए ।
तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार मनकुमार श्रेष्ठ, मानार्थ सदस्य तथा सल्लाहकार पद्यराज ढकाल, आजीवन सदस्य तथा सल्लाहकार हुमबहादुर गुरुङ, संगम सहकारीका अध्यक्ष निरज थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राजबहादुर गुरुङले तरेली साँस्कृतिक परिवारका बारेमा जानकारी गराएका थिए भने स्वागत सहसचिव घनश्याम पुन र संचालन सचिव रबिन गुरुङले गरेका थिए । कार्यक्रममा तरेली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।






