गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार राजबंशी जातिको जनसंख्या महिला ५८ हजार ८ सय ३१ र पुरुष ५६ हजार ४ सय ११ जना गरी जम्मा १ लाख १५ हजार २ सय ४२ जना रहेका छन् । २०४८ सालको राष्ट्रिय जनगणनाअनुसार महिला ४० हजार ९ सय ९० जना र पुरुष ४१ हजार १ सय ८७ जना गरी जम्मा ८२ हजार १ सय ७७ जना थियो भने २०५८ सालको राष्ट्रिय जनगणना अनुसार जम्मा १ हजार ४ सय २९ जना मात्र उल्लेख गरिएको थियो ।
नेपालको पूर्वी झापा, मोरङ र सुनसरी जिल्लामा मुख्य बसोबास रहेका राजबंशी जाति धार्मिक रुपमा हिन्दु र मुसलमान दुबै धर्म मान्दछन् ।
कमै जातिमा मात्र घरज्वाई विवाह गर्ने चलन छ । त्यो मध्येको राजबंशी जातिमा मागी विवाह, प्रेम विवाह, डांगुवा विवाह धनजिया (घरज्वाइँ) विवाह गर्ने चलन रहेको छ । जतिसुकै प्रकारको विवाह गर्ने चलन भए तापनि विशेष मागी विवाहलाई प्राथमिकता दिने गर्दछ । राजबंशी जातिमा मागी विवाह गर्दा केटी माग्न जाँदा केटा पक्षको घरको मान्छे जाने गर्दैन । लमीमार्पmत बिहेको तय गर्ने यी जातिमा लमीलाई ‘कारुवा’ भन्ने गर्दछ । मागी विवाहको तय भइसकेपछि कन्यादान दिँदा बेहुलीको बाबुले बेहुलीको हातमाथि बेहुलाको हात राख्दै ‘मेरी छोरी आजदेखि तिमीलाई दिएँ पाल’ भन्ने गर्दछ । राजबंशी जातिमा यो नै कन्यादान दिएको मान्ने चलन छ ।
उमेर पुगेको युवायुवतीहरु आआपंैm मन परापर भएर बिहे भएमा उनीहरु घरमा नगरी मन्दिरतिर गएर बिहे गर्ने चलन छ । राजबंशी जातिमा जस्तो अरु जातिमा सायदै कमै होला । घरमा विवाह गरी ल्याएकी बुहारी कारणबश विधवा भएमा उनलाई मन परेको कुनै केटा खोजेर घरमा राख्ने अनुमति घरका सासुससुराले स्वीकृति दिन्छन् । जसलाई डांगुवा प्रथा भन्ने गर्दछ । त्यो केटाबाट सन्तान जन्मेमा त्यो केटाको नभई बुहारीकै सन्तानमा गणना गर्दछ । कारणबश त्यो केटाले त्यो केटी वा घर छाड्नु पर्ने परिस्थिति बनेमा उसले केही पनि लान पाउँदैन । पहिलेजस्तो आएको थियो त्यस्तै उसको घर जानु पर्ने हुन्छ ।
राजबंशी जातिमा ‘धनजिया’ विवाहको प्रथा पनि चलनचल्तीमै रहेको छ । घरमा छोरीमात्रै छे । छोरा छैन भने छोरीको लागि एक केटा खोजी घरमै ल्याएर बिहे गरीदिएर राख्ने गर्दछ । यो विवाह सबै मागी विवाहकै प्रक्रियाअनुसार गर्ने गर्दछ । घरज्वाइँ बस्ने ज्वाइँले ससुरालीको सम्पत्ति भोगचलन गर्न पाउँछन् । तर, बेचबिखन तथा बन्धक राख्न भनेचाँहि पाउँदैन ।
राजबंशी जातिमा लासलाई जलाउने र गाड्ने दुबै गर्ने चलन छ । लासलाई गाड्ने वा जलाउनु अघि नुहाई दिने र मृतकले लगाएको कपडाहरु निकालेर घरको आँगनमा खाल्डो खनी पुरीदिने गर्दछ । लासलाई बेर्नको (कात्रो) लागि सेतो कपडा प्रयोग गर्दछन् । लासलाई शनिबार र मंगलबारका दिन घाटमा एक्लै लैजाँदैनन् । घाटतिर लास लैजाँदा सँगै एक थाम केरा पनि लाने गर्दछ । कहिल्यै पनि रात परेपछि राजबंशी जातिले लासलाई अन्त्येष्टि गर्दैनन् । दिउँसै मात्र गर्दछ । राजबंशी जातिमा किरिया बार्दाखेरी जेठो छोराले मात्र बार्ने गर्दछ । यदि जेठो छोरा छैन भने उ भन्दा मुनीको जो जेठो हुनेछ उसैले बार्नु पर्ने हुन्छ । यदि छोरा छैन भने श्रीमान्को श्रीमतीले र श्रीमतीको श्रीमान्ले किरिया बार्ने गर्दछन् । त्यो पनि नभएमा नजिकको आफन्तहरुले बार्ने गर्दछ । राजबंशी जातिले धार्मिक कार्य र मृत्यु कार्य एउटै पुरोहितबाट गराउँदैनन् । उनीहरु फरक–फरक पुरोहित लगाई कार्य गर्दछ । जम्मा बाह्र दिन किरिया बारी सुद्धाइँ गर्छन् । त्यस दिन घरकाहरुले पञ्चदान दिन्छ । राजबंशी जातिले आफना पितृहरुलाई सम्झी रहनको लागि वार्षिक रुपमा श्राद्ध गर्ने गर्दछन् ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६. लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
प्रतिक्रियाका लागि : ९८५२६८२५८०
(अर्को अंक गन्गाइ जातिबारे लेख प्रकाशन गरिनेछ ।)


