बलिउडका प्रवेश निक्कै गाह्रो काम हो । यहाँ पहिलो त ब्रेक पाउनै मुश्किल हुन्छ । यदि काम पाइयो भने पनि त्यहाँ टिकिरहन झनै मुश्किल छ । यो कुरा बाल कलाकारहरुको प्रसंगमा पनि लागु हुन्छ । यद्यपी हामी ती अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं, जसले सानो उमेरमै बालकलाकारको रुपमा बलिउड छिरेर आफ्नो रजगज जारी राखेका छन् ।
आलिया भट्ट
बलिउडकी लोकप्रिय अभिनेत्री आलिया भट्टलाई दर्शकहरुले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत पहिलो पटक अभिनेत्रीको रुपमा देखेका हुन् । तर उनी सन् १९९९ मै प्रदर्शन भएको फिल्म ‘संघर्ष’ मा देखिएकी थिइन् । उक्त फिल्ममा आलियाले अभिनेत्री प्रीति जिन्टाको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । त्यस बेला आलिया केवल ६ वर्षकी थिइन् ।
श्रुति हसन
त्यसो त अभिनेत्री श्रुति हसनले सन् २००९ मा प्रदर्शन भएको फिल्म ‘लक’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । तर, ठूलो पर्दामा उनी पहिलो पटक सन् २००० मा प्रदर्शन भएको फिल्म ‘राम’ मा देखिएकी थिइन् । उक्त फिल्मको मुख्य भूमिका उनकै बुवा कमल हसनले निर्वाह गरेका थिए ।
तब्बू
सन् १९९४ मा फिल्म ‘विजयपथ’का लागि फिल्म फेयरको बेस्ट डेब्यू अवार्ड जित्न सफल अभिनेत्री तब्बूले त्योभन्दा करिव ९ वर्षअघि नै फिल्ममा डेब्यू गरिसकेकी थिइन् । उनी सन् १९८५ मा प्रदर्शन भएको देवानन्दको फिल्म ‘नौजवान’ मा देवानन्दकी कान्छी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् । यसबाहेक तब्बूको मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म भने तेलुगू भाषाको ‘कुली नम्बर वन’ थियो ।
श्रीदेवी
बलिउडमा रुपकी रानीको उपनामले चर्चित अभिनेत्री श्रीदेवीले पनि निकै कम उमेरदेखि नै फिल्मी संसारसँग सम्बन्ध गाँसेकी थिइन् । श्रीदेवीले बाल कलाकारको रुपमा पहिलो पटक तमिल फिल्ममा अभिनय गरेकी थिइन् । त्यो बेला उनको उमेर केवल चार वर्षको थियो ।
फातिमा सना शेख
दंगल गर्लको उपनामले चर्चित अभिनेत्री फातिमा सना शेखले सन् १९९७ मा प्रदर्शन भएको कमल हसनको फिल्म ‘चाची ४२०’ मार्फत फिल्मी क्षेत्रमा बाल कलाकारको रुपमा कदम राखेकी थिइन् ।
नितु सिंह
७० को दशककी उत्कृष्ट अभिनेत्रीको रुपमा रहिसकेकी नितु सिंहले सन् १९६६ मा प्रदर्शन भएको फिल्म ‘सूरज’ मार्फत ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । फिल्म ‘दो कालिया’बाट चर्चित भएकी यी बाल कलाकारलाई त्यतिबेला ‘बेबी सोनिया’ नामले समेत चिनिन्थ्यो । बाल कलाकारको रुपमा नितुले धेरै वटा फिल्ममा अभिनय गरेकी थिइन् ।
कोंकणा सेन शर्मा
अभिनेत्री कोंकणा सेन शर्माले निर्देशकको रुपमा समेत आफूलाई स्थापित गराइसकेकी छिन् । सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘मिस्टर एण्ड मिसेज अय्यर’ तथा सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘पेज थ्री’ मार्फत दर्शकको मन जित्न सफल कोंकणा बंगाली भाषाका फिल्महरुकी स्थापित कलाकार थिइन् । उनले पनि बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पहिलो फिल्म १९८३ मा प्रदर्शन भएको थियो । बंगाली भाषाको फिल्म ‘इन्दिरा’ मा उनले बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् ।
हंसिका मोटवानी
ऋतिक रोशनको फिल्म ‘कोई मिल गया’ मा उनकी एउटी सानी साथी छिन्, उनको नाम हो हंसिका मोटवानी । उनी आज दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री बनिसकेकी छन् । त्यसो त हंसिकाले अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म हिन्दी भाषामै बनेको थियो । संगीतकार हिमेश रेशमियाको फिल्म ‘आपका सुरुर’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्ने हंसिका अहिले दक्षिण भारतीय फिल्ममै व्यस्त छिन् ।
उर्मिला मातोडकर
रामगोपाल बर्माको फिल्म ‘रंगीला’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्ने उर्मिला मातोडकरलाई बलिउडमा ‘रंगीला गर्ल’कै उपनामबाट चिनिन्छ । हाल उनी अभिनयबाट समेत टाढिएर राजनीतिकर्मीको रुपमा स्थापित हुँदैछिन् । तर फिल्ममा भने उनले पनि बाल कलाकारकै रुपमा आफ्नो अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा अभिनय गरेको पहिलो फिल्म थियो ‘मासुम’, जुन सन् १९८३ मा प्रदर्शन भएको थियो । उक्त फिल्ममा उर्मिलाले शबाना आजमी तथा नसरुद्दीन शाहकी छोरी पिंकीको भूमिका निर्वाह गरेकी थिइन् ।
सना सइद
सन् १९९८ मा प्रदर्शन भएको शाखरुख खानको फिल्म ‘कुछ कुछ होता है’ मा शाखरुख खानकै छोरीको भूमिका निर्वाह गर्ने बाल कलाकार हुन् सना सइद । सनाले ठूली भएपछि सन् २०१२ मा प्रदर्शन भएको आलिया भट्ट–वरुण धवन स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा तान्या इसरानीको भूमिका निर्वाह गरेकी थिइन् । त्यसो त अगाडि गएर सनाले फिल्मको तुलनामा टेलिभिजन बढी सफलता पाइन् ।






