पोखरा । वरिष्ठ संस्कृतिकर्मी स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवसका अवसरमा पोखरामा गुरुङ कलाकारहरुले उनका दर्जन भन्दा बढी गीत गाएका छन् । अभियान फिल्म प्रा.लि. मार्फत विशुद्ध गुरुङ भाषा र संस्कृतिमा आधारित ७ वटा चलचित्र निर्माण गरेका गुरुङले ती चलचित्र मार्फत दर्जनौं तमू भाषाको गीतहरुले लेख्नुका साथै त्यसलाई संगीत समेत गरेका छन् ।
पोखरामा कलाकारहरु धनबहादुर गुरुङ, मनोज गुरुङ, तेजेन्द्र गुरुङ, राजबहादुर गुरुङ, सरुन, प्रिया गुरुङ, देवी गुरुङ, उषा गुरुङ, एलिना गुरुङ, कुशुम गुरुङ लगायतका कलाकारहरुले स्व.लोकबहादुर गुरुङले रचना गरेको गीतहरु भञ्ज्याङ काटेर नजाउ दिलै तोडेर नजाउ, देउरालीर प्रोनो ङलाई चौतारीर प्रोनो, खना बोलै भोदो ङलाई तारे, गंगारबै क्यु भन्दा चोखो, रिमै थुमै प्रेतना रोधी री, अह्यादो ठागु, तोतो प्रिमो कर्मरी, ङै नासा री, च्हौ छयाँबा बुटे क्रमु कुबा लगायतका चर्चित गीतहरु लाईभ म्युजिकमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी स्व.लोकबहादुर गुरुङका शुभचिन्तक आफन्त तथा सहकर्मीहरुले उक्त मार्फत पुनःस्व.लोकबहादुर गुरुङलाई सम्झेका थिए । साङ्गेतिक कार्यक्रमको संयोजन हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ र गायक तथा संगीतकार मनोज गुरुङले गरेका थिए भने साँङ्गेतिक कार्यक्रमको सञ्चालन भने गायक तथा संगीतकार मनोज गुरुङले सञ्चालन गरेका थिए ।
तस्बिर : महेन्द्र तमू






