अब्बल वान लेग डान्सर मिना पुन

SHARE:

वान लेग डान्सरको रुपमा परिचित मिना जन्मजात नै अशक्त होइनन् । जन्मेको पाँच महिनामा दाहिने खुट्टा अँगेनामा परेर जलेपछि काटेर फ्याँकिएको थियो

असामान्य प्रतिभा हुन्, मिना पुनमगर । उनी बैशाखीको सहाराले हिँड्डुल गर्छिन् तर स्टेज मिल्नेबित्तिकै दर्शकदीर्घालाई उत्साहित पार्दै नाच्छिन् । गडगडाहड ताली पाउँछिन् । यसरी नृत्यांगनाको भूमिकामा देश, विदेशमा निरन्तर प्रस्तुति गर्न थालेको एक दशक पार गरिसकिन्, उनले ।

000
बाँके कोहलपुर निवासी मिनामा नृत्य र अभिनयको भोक छ । उनी सानैदेखिको नाच्ने रहर पूरा गर्ने मात्रै होइन, अझै सुन्दर प्रस्तुति दिने ध्याउन्नमा छिन् । जसको निम्ति उनी काठमाडौं चाबहिलको कला केन्द्रमा नृत्य प्रशिक्षण लिइरहेकी छन् । परिवारको आर्थिक अवस्था दयनीय रहेकी मिना बेजोडले नाच्छिन् । उनी नृत्यसम्बन्धी सैद्धान्तिक ज्ञान बढाउन तालीम लिन थालेको बताउँछिन् । प्रशिक्षणको लागि राजधानी काठमाडौं आउन खर्च अभाव थियो । एउटा प्रचलित भनाइ छ, ‘तँ आँट म पुर्‍याउँला’ भनेजस्तै मिनाको प्यासन पूरा गर्न सहारा बने आदिवासी जनजातिका वरिष्ठ चलचित्रकर्मी सञ्जोग लाफामगर । कोहलपुरमै फेरो मारिरहेकी मिनालाई चलचित्रकर्मी लाफामगरको पहलमा विदेशबाट पैसा संकलन गरी नृत्य प्रशिक्षणका लागि काठमाडौंमा बस्ने व्यवस्था मिलाइएको हो । अचेल चाबहिलस्थित एक होस्टलमा बस्छिन् र प्रशिक्षण लिइरहेकी छन् ।

000
मिनालाई राम्रो कोरियोग्राफर बनाउने सञ्जोगको ५ वर्षदेखिको चाह थियो, त्यसको कार्यान्वयन प्रक्रिया बल्ल बल्ल सुरु भएको छ । मिनाको सपना साकार पारिदिने सञ्जोगको पहलमा सहारा बने, साहित्यकार, एभरेस्ट टाइम्सका सम्पादक एवं मगर संघ यूकेका पूर्वअध्यक्ष दूत पुन । पुनकै नेतृत्वमा बेलायतमा संकलन भएको ३ लाख ७१ हजार केही साताअघि मात्रै मिनाले हात पारिन् । ‘यो जमानामा नि:स्वार्थ मनले सञ्जोग लाफामगर दाजुको विशेष सहयोग, यूकेमा रहनुहुने दुत पुन दाइ लगायत सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सपोर्टले म यहाँ बस्न पाएकी छु । लक्ष्यमा पुग्ने छ । हेरौं के हुन्छ,’ एभरेस्ट टाइम्सकर्मीसँग मिनाले भनिन्, ‘म एकदमै खुसी छु ।’ होस्टल र नृत्य केन्द्रमा गरी मिनालाई मासिक कम्तीमा २० हजार खर्च लाग्ने छ ।

000
करिब ६ महिनाको कोर्स पूरा गर्ने मिनाको लक्ष्य छ । तर, उनको फरवार्डनेसले गर्दा ३ महिनामै व्यसिक कोर्स सकिने उनका नृत्यगुरु छेडुप लामा बताउँछन् । व्यावसायिक रुपमै नृत्य गरेर दशक पार गरेकी मिनालाई सैद्धान्तिक ज्ञानका लागि थालिएको नृत्यको व्यसिक कोर्स सकाउन निकै हतार भइरहेको छ । अन्तर्वार्ता लिँदै गर्दा एभरेस्टकर्मीको छेउमै बसेका चलचित्रकर्मी लाफामगर मिनाबारे बोले, ‘गुरुले काउन्सेलिङ गराइरहेको छ । सम्झाइरहेको छ । तर उनको प्यासन छिटो सिक्न पाएहुन्थ्यो भन्ने छ । हतारिरहेकी छिन् ।’ उनको विश्वास थियो, ‘तीन महिनामा कोर्स पूरा गर्छिन्, अहिलेभन्दा मिनाले बेटर नाच्छे’ थपे, ‘हामी भविष्यमा उनलाई राम्रो कोरियोग्राफर, डान्स टिचर बनाउँछौं ।’
तर, आफूलाई सम्हाल्ने कोसिसमा मिना बोली, ‘छिटो किनभने खर्ची धेरै हुन्छ के । मेरो आफ्नो कमाइ छैन नि ! काठमाडौंमा अरुको भरमा बाँचेकी छु । भोलिको दिनमा सहयोग नआउन सक्छ ।’

कतिपय कलाकार केही विधाका गीतमा मात्रै नाच्ने गर्छन् । तर, मिना प्राय: जुनसुकै विधा र भेगमा चल्ने गीतमा नाच्न जान्दछिन् । ‘सबै विधाको गीतमा नाच्छु । कल्चर, हिपप, चलचित्र, आधुनिक र दोहोरी गीतमा ।’ नाचको प्रशिक्षणबाहेक फुर्सद ब्यूटी पार्लरसम्बन्धी तालिम लिने सोचमा छिन् मिना ।

000
उमेरले दुई दशक पार गरेकी मिना हिजोआज नृत्य प्रशिक्षणमा रहे पनि उनले नेपालकै ख्यातिप्राप्त प्रतियोगिताहरुमा भाग लिइसकेकी छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने छमछमी सिजन १ को प्रतिस्पर्धी हुन् उनी । छमछमीमा चौथो स्थान प्राप्त गरेकी उनी गोपीकृष्ण फिल्मले आयोजना गरेको ‘को बन्छ कलाकार ?’ मा दोस्रो स्थानमा फालिए । उनले बुटवलमा आयोजित डान्स अवार्ड लगायत प्रतियोगितामा पनि भाग लिइन् ।

000
टेलिभिजन रियालिटी शोबाट थप चिनिएकी मिना हङकङसम्म पुगिन् भने नेपालका थुप्रै जिल्ला डुलिसकिन् । ‘महोत्सव, ठूल्ठूला स्टेज कार्यक्रममा गएँ’ उनले प्रस्ट्याउँदै भनिन्, ‘महोत्सवमा गएँ । त्यहाँ दर्शक, मिडियाले चिन्नुहुन्छ, धेरै कार्यक्रममा जाने वातावरण त्यसैले गरायो ।’ अहिलेसम्म ८ सय स्टेज प्रोग्राममा सहभागी भइसकेको उनले सुनाइन् ।

000
ज्ञानज्योति विद्यालय चप्परगौरी कोहलपुरको वार्षिकोत्सवमा उनी कक्षा ६ मा पढ्नेताका नै नाचेकी थिइन् । त्यतिखेर प्रथम स्थान हासिल गरिन् । घच्चीले त मिना नाच्छिन् नै अभिनयमा पनि कम्ता छैनन् । उनलाई थोरै समय कक्षा लिएमा अभिनयमा पनि धेरै प्रगति गर्न सक्ने अग्रजले सुझाव दिएको सम्झन्छिन् । ‘रुद्र खनाल कोहलपुरका स्थानीय कलाकार हुनुहुन्छ । फिल्म खेलाउनुहुन्थ्यो । उहाँले मसँग बर्दियामा अभिनय गर्नुभएको थियो’ मिनाले स्मरण गरिन्, ‘फिल्म हलमा डान्स गर्छेउ नै याक्टिङ पनि राम्रो गर्न सक्छेउ । अझै सिकेमा तिमीले सोचेको कुरा हुन्छ’ खनालको सुझाव वचन थपिन्, ‘मेरो क्लबमा सिक्न आउ भन्नुहुन्थ्यो तर त्यत्तिबेला ५ सय फि थियो । मेरा लागि धेरै भयो । गइनँ ।’
बिनाप्रशिक्षण यथार्थ झल्कने गरी अभिनय गर्न सिपालु मिना देशका विभिन्न ठाउँमा सडक नाटकमा पुगिन् । राष्ट्रिय अपांग महासंघले दुई वर्षअघि ७७ जिल्लाका गाउँगाउँमा अपांगता जनचेतनामूलक सडक नाटक आयोजना गर्दा उनी सहभागी थिइन् । नाटक टोलीमा उमेरले सानी भए पनि मिनाले पर्फक्ट अभिनय गरेकीले अग्रज एकदमै खुसी भएको उनले सुनाइन् ।

वान लेग डान्सरको रुपमा परिचित मिना जन्मजात नै अशक्त होइनन् । उनले सुनाएअनुसार जन्मेको पाँच महिनामा दाहिने खुट्टा अँगेनामा परेर जलेपछि काटेर प्mयाँकिएको थियो । आमाबुबा गोठालो र ढिकी जाँतो गर्न जाँदा उनी अँगेनामा जलेकी थिइन् । जलेको खुट्टा भेरी अस्पतालमा पुर्‍याएर काटिएको थियो । त्यसपछि उनलाई हिँड्डुल गर्न निकै सकस भयो । गाउँठाउँमा बैसाखी नपाएको बेला उनी हातले टेकेर हिँड्थिन् । पुराना दिन सम्झिन्, ‘१० वर्षसम्म जहिल्यै हात टेकेर घिस्रिएर हिँड्थेँ । अझै पनि हातका ठेलाहरु गा’छैन ।’ ११ वर्षको उमेरदेखि बैसाखीको सहारा पाएको उनले बताइन् । त्यही बेला कोहलपुरको भरैया नगरपालिका १३ बाट बाँके झरेर ३ कक्षाबाट औपचारिक पढाई सुरु गरेकी थिइन् ।
000

शारीरिक अशक्तता भएकालाई कतिपय समाज र सार्वजनिक ठाउँमा हेप्नेचेप्ने अझै दुष्कर्म विद्यमान छ । मिनाले दुर्गम गाउँमा त्यस्तो अवस्था झेले पनि विद्यालयमा भने सम्मान नै पाइन् रे । ‘स्कुलमा साथीहरुले माया गर्नुहुन्थ्यो । मैले कहिले पनि साथीहरुसँग कम्प्लेन पाइनँ । छ कक्षादेखि डान्स गरेँ, साथीहरु त झनै छक्क पर्थे ।’ तपाईंले त एउटा खुट्टा नहुँदा पनि कस्तो मजाले नाच्नु हुन्छ है भनेर अनेक हौसला गराउँथे रे उनलाई । ‘साथीहरु झन् मेरो पछि लाग्ने । म सँग घुम्नफिर्न र कुरा सिक्न इन्ट्रेस्ट गर्ने’ उनले भनिन् ।
पाँच दिदीबहिनी, ३ दाजुभाइमध्ये माइली मिना शारीरिक अशक्तता भएकाहरुलाई हिम्मत नहार्न अनुरोध गर्छिन् । ‘तपाईंहरुको जागिर खाने, नाच्ने केही सोच, लक्ष्य छ भने हिम्मत नहार्नुस्’, उनको आग्रह, ‘आफूमा क्षमता हुनुपर्‍यो । केही गर्न सक्छु भन्ने आँट हुनु पर्‍यो । सकिन्छ ।’
मेहनत र परिश्रमको फल मीठो हुन्छ । मिनाले पारिवारिक समस्या र आर्थिक कठिनाइबीच नाचलाई निरन्तरता दिइरहिन् । र, हङकङसम्म पुगिन् । कलिलो उमेर र नृत्यमा विद्यार्थी नै भए पनि कार्यक्रमहरुमा राष्ट्रिय कलाकारको रुपमा सम्मान पाउँदा उनी हौसिने गर्छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!