एटा संवाददाता
लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अन्योलमा परेको छ । अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार समूहले बेजिङ्गस्टोकको मतदान केन्द्रमा अनियमितता भएको आरोप लगाउँदै सो केन्द्रमा पुन: मतदानको अडान राख्दै मतगणनास्थलबाट बाहिरिएपछि मतगणना अन्योलमा परेको हो । निर्वाचन मण्डलले तोकेको १३ वटा मतदान केन्द्रमा गत शनिबार १४ सेप्टेम्बरका दिन निर्वाचन भएको थियो ।
मतदानको क्रममा बेजिङ्गस्टोकको मतदान केन्द्रमा अर्को पक्षले बुथ क्याप्चर गरेको सुनार समूहले आरोप लगाउँदै शनिबार राति बेजिङ्गस्टोकको मतपेटीका मतगणना स्थलभित्र लैजान खोज्दा अवरुद्ध गरेका थिए । शनिबार राति नै निर्वाचन मण्डलले दुवै पक्षसँग लामो वार्ता गरे तापनि सहमति नभएपछि आइतबार १० बजेभित्र दुवै पक्षलाई सहमतिमा आउन आव्हान गरेका थिए । सहमतिमा नआए निर्वाचन मण्डलले राजीनामासमेत गर्न सक्ने चेतावनी दिएका थिए ।
आइतबार बिहान १० दुवै पक्षका उम्मेदवार, सर्मथक, शुभचिन्तक लगायत मतगणना स्थल पुगे पनि निर्वाचन मण्डलको बैठक नटुंगिएकोले निर्वाचन मण्डलले दिउँसो २ बजेसम्म कुनै जानकारी दिइएको थिएन । सोही क्रममा सुनार समूहले दिउँसो करिब पौने २ बजे सोही भवनमा पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनको क्रममा समूहले निर्वाचन मण्डलले आफैंले आफूहरु निर्वाचन गराउन असक्षम भएको बताइएकोले बेजिङ्गस्टोक लगायतका स्थानमा पुन: मतदान गराई निर्वाचन गराउन एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यसहित अन्तर्राष्ट्रिय समन्वय परिषद् काठमाडौंलाई निवेदनमार्फत आग्रह गरेका थिए । सो अवसरमा एनआरएनए यूके वर्तमान महासचिव राजकुमार त्रिपाठी र उपमहासचिव विनय अधिकारीले कार्यसमिति अझै सक्रिय रहेकोले समस्या समाधान गर्न आफूहरु सक्षम गरेको जिकीर गरे ।
सोही दिउँसो निर्वाचन मण्डलले दुवै पक्षसँग कुराकानी गरेका थिए । तर, उनीहरुबीचको कुराकानी नमिलेपछि आइतबार बेलुकी करिब ८ बजेदेखि मतगणना सुरु भएको थियो । तर, स्वतन्त्र मतगणकको अभाव देखाई सोमबार पुन: मतदान सुचारु गर्ने जनाउँदै निर्वाचन मण्डलले मतगणना स्थगन गरिएको जानकारी दिए । आइतबार राति स्थगन गरिएको मतगणना यो समाचार तयार पार्दासम्म सुचारु भएको छैन । मतगणताबारे निर्वाचन मण्डलसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसै सन्दर्भमा अध्यक्षका प्रत्यासी शेर सुनारसँग जिज्ञासा राख्दा आफूहरुले समस्या समाधानका लागि आईसीसीलाई निवेदन गरिएको र आईसीसीको निर्देशनलाई पालना गर्ने’ बताए । त्यस्तै, उनले सबै नेपाली संघसंस्था मिलेर समाधान खोज्नु पर्नेमा जोड दिए । अर्का अध्यक्षका प्रत्यासी पुनम गुरुङसँग बुझ्दादा खोज्दा सम्पर्क हुन सकेन ।
एनआरएनए यूकेको निर्वाचन सम्पन्न गर्न एनआरएनए यूकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिईको संयोजकत्वमा एक निर्वाचन मण्डल गठन गरिएको थियो । करिब १ महिनाअघि सुरु गरिएको निर्वाचन प्रक्रिया एकाएक अवरुद्ध हुँदा बेलायतवासी नेपालीहरुलाई निरास बनाएको छ । धेरैजसो बेलायतवासी नेपालीहरुले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरिरहेका छन् ।
कुल १३६२९ मतदाता रहेको उक्त निर्वाचनमा १३ वटा मतदान केन्द्र थिए । जसमा उत्तरी आयरल्यान्डको वेलफास्ट, स्कटल्यान्डको एडिनबरो तथा ग्लास्गो, वेल्सको कार्डिफ, मिडल्यान्डको बर्गिमहम, लेस्टर, केन्टको आस्फोर्ड, लन्डनको ह्यारो तथा प्लमस्टिड, रेडिङ्ग, स्वीन्डन, बेजिङ्गस्टोक र अल्डरसटमा मतदान केन्द्र तोकिएको थियो । जसमा करिब ९ हजार ४ सय मत खसेको थियो । १४ पेजको मतपत्र त्यसमा करिब ४० जना भन्दा बढीलाई मतदान गर्नुपर्ने भएकोले पनि धेरैजसो वृद्धवृद्धा र असक्त मतदाताहरुले समस्या भोग्नु परेको थियो ।
निर्वाचन मण्डलले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि थुप्रै प्रयास गरे तापनि निर्वाचनमा भएको सानातिना कमिकमजोरीकै कारण समस्या झन् बल्झिएको धेरैको भनाइ छ ।
एनआरएनए यूकेको विधानअनुरुप राष्ट्रिय समन्वय परिषदका लागि २७, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका ७ र ४ वटा राज्यसमिति (वेल्स, उत्तरी आयरल्यान्ड, इंग्ल्यान्ड, स्कटल्यान्ड) का १०/१० गरी पहिलो पटक ७४ स्थानका लागि निर्वाचन भएको थियो । ७४ स्थानमा जम्मा १ सय १७ ले उम्मेदवारी दर्ता गराएका थिए ।
यसैबीच वेल्स र उत्तरी आयरल्यान्ड राज्य परिषद्का सबै पद निर्विरोध भएका छन् भने स्कटल्यान्ड तथा इंग्ल्यान्ड राज्य परिषद र राष्ट्रिय समन्वय परिषद्का लागि निर्वाचन भएको थियो ।