चुम्लुङदेनलाई अझ व्यवस्थित गर्ने तयारीमा चुम्लुङ यूके

SHARE:

अल्डरसट (बेलायत) । आफ्नो गौरवमय योजनाका रूपमा खरिद गरेको चुम्लुङदेनलाई याक्थुङ चुम्लुङ यूकेले थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने भएको छ । भविष्यमा बहुउद्देश्यीय परियोजनाका रूपमा चुम्लुङ देन(जग्गा)लाई उपभोग गर्न चुम्लुङले गृहकार्य पनि थालेको छ ।

सेप्टेम्बर २३ शनिबार अल्डरसटमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा बोल्दै चुम्लुङ यूके अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले चुम्लुङदेन खरिद प्रक्रिया र स्वामित्व ग्रहणको कामले पहिलो चरण मात्रै पूरा भएको बताए । उनले बेलायतवासी बीसौँ हजार याक्थुङहरूको गरिमाका रूपमा चुम्लुङदेन खरिद गर्न सफल भएको दोहो¥याए । ‘सिसेक्पा तङ्नाम भव्य ढङ्गले आफ्नै चुम्लुङ देनमा मनाउन सफल भयौँ । अब भावी पिँढीका लागि देनलाई बहुउद्देश्यीय र साझा बनाउनुपर्छ,’ परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सम्बाहाम्फेले भने । उनले चुम्लुङदेनको रेखदेखदेखि भविष्यमा चुम्लुङ हिम निर्माणसम्मको परिकल्पना आफूहरूले गरेको सुनाए । २५.३३ एक्डमा फैलिएको चुम्लुङ देनको खरिद प्रक्रिया सन् २०११ मा पीपीसी गठन भएपछि सुरु भएर गत साल समापन भएको थियो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङ देन खरिदका लागि ७८७ सहयोगदाताहरूबाट रकम सङ्कलन गरिएको थियो । मेडस्टोनको याल्डिङमा रहेको जग्गा सन् २०१८ मा कुल ३,३२,१९२ पाउन्ड स्टर्लिङमा खरिद गरिएको थियो । चुम्लुङ देनको उद्घाटन मेडस्टोन बोरो काउन्सिलकी मेयर मेरियन रिङले गत जुलाई १३ मा आयोजित सिसेक्पा तङ्नाम उत्सवका अवसरमा गरेकी थिइन् ।

चुम्लुङ देनकै रेखदेख गर्न परिषद् बैठकले उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा चार सदस्यीय कार्यदलसमेत निर्माण गरेको महासचिव गणेश इजमले जानकारी दिए । सदस्यहरूमा दीपक तुम्बापो, जीवन परा र इन्द्र थक्लुङ रहेका छन् । महासचिव इजमले बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै चुम्लुङ सदस्यता पत्र र चुम्लुङदेन सदस्यता पत्र वितरण कार्यलाई तीव्रता दिने बताए । प्रतिवदेनअनुसार हाल १५ वटा शाखाहरू र तीनवटा अनौपचारिक क्षेत्रहरूमा २०४९ साधारण सदस्यहरू, ७२ आजीवन सदस्यहरू, ३५ जना संरक्षक सदस्यहरू रहेका छन् । उनले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न युवा फोरम निर्माणको अवधारणा भए पनि पूरा गर्न नसकेको बताए । यसैगरी, कोषाध्यक्ष धन काम्वाङले आयतर्फ कुल ५९,९५७.४५ पाउन्ड, व्ययतर्फ कुल ४४,३५२.७३ पाउन्ड भई कुल बैङ्क बचत १५,६०४.७२ पाउन्डको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

केन्द्रीय समिति र शाखा समितिहरूको उपस्थितिमा सम्पन्न परिषद बैठकले पूर्व महासचिव खगेन्द्र लावतीद्वारा प्रस्तुत कियाचु यूके पुरस्कार सम्बन्धी नियमावली २०१९ लाई संशोधनसहित पारित गरेको थियो । चुम्लुङ यूकेले विभिन्न विधामार्फत् समुदाय र सङ्गठनका लागि विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सिरिजङ्गा अवार्ड, यलम्बरहाङ अवार्ड, चुम्लुङ अवार्ड र वर्षको उत्कृष्ट कलाकार अवार्डहरूले सम्मानित गर्दै आएको छ । यसैगरी, बैठकले सन् २०२० को सिसेक्पा तङ्नाम उत्सवका लागि उपाध्यक्ष नरवीर आङ्वोलाई मुख्य संयोजक र अर्का उपाध्यक्ष दुर्गा पाङ्मालाई उपसंयोजक तोकेको छ । वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङका अनुसार केन्द्रीय समितिले चुम्लुङ सदस्यहरूको समस्यामा सहयोग गर्न कल्याणकारी कोष निर्माण गरेको बताए । कोषले सदस्यहरूको मृत्यु भएमा या कठिन समस्या परेमा राहत रकम उपलब्ध गराउनेछ । बैठकले विधान संशोधन लगायत आगामी महाधिवेशनको मिति तय गर्न सन् २०२० फेब्रुअरी १५ मा विधान सभा डाकेको छ । परिषद बैठकमा पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, सल्लाहकारहरू समेतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!