नारायण गाउँले
साहित्यमा प्रकृतिचित्रण र मोह नौलो होइन । वैदिक अर्ध साहित्यिक रचनादेखि ग्रिसेली र रोम साहित्यहरूमा प्रकृति र वातावरणको कथ्यकै रूपमा समेत सघन उपस्थिति छ । विश्वको आदिम कृति ऋग्वेदको ‘उषस् सूक्त’को प्रकृतिचित्रण आज पनि लोभलाग्दो मानिन्छ । ऋतुविचारजस्ता प्रकृति र वातावरणमैं मात्र लेखिएका साहित्यिक कृतिहरू पनि नेपालीमा उपलब्ध छन् ।
तर, क्षयीकरण हुँदै गएको वातावरण र प्रकृतिको स्वास्थ्यप्रति गम्भीर भएर र यसको मानवीय सभ्यता र जीवनमाथि पर्ने प्रत्यक्ष असरबारे चिन्तित भएर सिर्जना गरिएका साहित्यिक कृति धेरै कम छन् ।
प्राकृतिक सम्पदाको अतिदोहन र विवेकहीन दुरुपयोगले गर्दा मानव सभ्यतामात्रै होइन, सिङ्गो पृथ्वी नै विनाशको सङ्घारमा उभिएको अवस्थाप्रति सर्जकहरू निरपेक्ष रहन सक्ने कुरो भएन । यही सांपेक्षता नै वातावरण साहित्यका रूपमा विकास भएको छ । यो कुनै ‘वाद’भन्दा पनि अभियानका रूपमा अघि बढेको देखिन्छ ।
नेपाली साहित्यमा यो अभियान सुरूआती चरणमै छ । बेलायतको नेपाली डायस्पोरामा रहेर नेपाली भाषा साहित्यमा साधनारत कवि विजय हितानले मुखर रूपमा यसको नेतृत्व गर्दै आएका छन् । व्यक्तिगत कृति प्रकाशनदेखि सचेतना कार्यक्रम, कार्यपत्र प्रस्तुति र विभिन्न चरणमा वातावरण साहित्य गोष्ठीको संयोजनजस्ता विविध गतिविधि गर्दै आएका हितानले बेलायती नेपाली डायस्पोरामा रहेका कविहरूको वातावरणमैत्री सिर्जनाको रूपमा सम्पादन गरेको यो ‘स्वच्छन्द सुसेलीहरू’ नामक कविताकृति वातावरण साहित्यमा एउटा कोसेढुङ्गा हुने मात्र होइन, प्रेरक र मार्गदर्शकसमेत हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।


