आसफोर्ड (बेलायत) । लामो समयदेखि मातृभूमिबाट टाढा रहँदै आएका बेलायतका आसफोर्डवासी नेपालीहरू शनिबार आफ्नो गाउँ ठाउँ सम्झेर भावुक भइरहेका थिए । आफू हुर्कंदा अनुभव गरेको संस्कृति सम्झेर विगतका दिनमा फर्किरहेका पनि थिए ।
नेपालको सुुदूरपूर्वी भूगोल र याक्थुङ समुदायमा आधारित भएर निर्माण गरिएको चलचित्र ‘थातथलो’ को प्रदर्शनीले आसफोर्डवासी नेपालीहरूले फरक अनुभूति गर्न पाएका हुन् । सो अवसर जुराइदिने संस्थाहरू तेह्रथुम समाज यूके र सगरमाथ गोरखा नेपाली समाज आसफोर्ड रहेका थिए ।
चलचित्रमार्फत् संस्कृतिलाई पुस्तान्तरण गर्न आफूहहरूले कार्यक्रम आयोजना गरेको तेह्रथुम समाज यूकेका अध्यक्ष डम्मर सिङ्गकले बताए । उनले नेपाली चलचित्र र कलाकारहरूको प्रवद्र्धनका लागि प्रवासमा रहेका नेपालीहरू सदैव तत्पर रहेको पनि जोडे । त्यस्तै, सगरमाथा नेपाली समाजका अध्यक्ष चक्र राईले नेपालीहरू जुनसुकै देशमा पुगे पनि आफ्नो संस्कृति भुल्न नदिन कला, संस्कृति, साहित्य र सङ्गीतलाई बचाइराख्नुपर्ने धारणा राखे ।
चलचित्र प्रदर्शनका बेला निर्देशक खगेन्द्र पङ्धाक र बर्मेली नायिका सुमी लिवाङ लिम्बू पनि उपस्थित थिइन् । सोही अवसरमा उनीहरूलाई याक्थुङ माङ्गेन्ना चुम्लुङ यूकेले पनि सम्मान पत्र र खादाले सम्मान गरेको थियो । त्यस्तै, तेह्रथुम समाज, सगरमाथा नेपाली समाज, लिम्बुवान नागरिक समाज, कियाचु आसफोर्ड, गोरखा पिस फाउन्डेसन, सगरमाथा महिला कमिटी, सेवारो कलाकार सङ्घ यूके, लिम्बू पत्रकार सङ्घ, विश्व नेपाली साहित्य महासङ्घ लगायतले पनि स्वागत सम्मान गरेको थियो ।
चलचित्र प्रदर्शनीकै लागि यूके भ्रमणमा निस्किएका निर्देशक पङ्धाकले प्रतिक्रिया दिँदै यूकेवासी नेपालीहरूको माया र सद्भावले उर्जा मिलेको बताए । उनले चलचत्रि कम बजेटमा निर्माण भए पनि आफूहरूले विषयवस्तुको प्रस्तुतिदेखि छायाङ्कनसम्म सक्दो मिहेनत गरेको दाबी गरे ।
थातथलो फिल्म करिब २० लाख बढी लागतमा निर्माण भएको हो । चलचित्रमा प्रथम लिम्बुवान आइडल कञ्चन थलङ, सुमी लिवाङ लिम्बु, किशोर लिम्बू पङ्धाक, सीताकुमारी तुम्बापो, नवीन सिरेङ चोङवाङ, सञ्जय निङ्लेकू, आयुषा लिम्बुखिम्, दुर्गा पङ्धाक, जेसन लिम्बु लगायतका कलाकार को अभिनय रहेको छ ।
फिल्मको दृश्याङ्कन पूर्वी नेपालको गुफापोखरी, मेन्छ्यायेम, चौकी, तीनजुरे भेगमा गरिएको छ । चलचित्रको हालसम्म नेपालको विभिन्न जिल्लाहरू, हङकङ, यूकेको स्कटल्यान्ड, ह्यारो, ग्रेज, अल्डरसटमा सफल प्रदर्शनी भइसकेको निर्देशक पङ्धाकले बताए ।






