लिम्बुवानले चुनावी तालमेल गर्न सक्छ : उपाध्यक्ष खापुङ

SHARE:

लन्डन । सङ्घीय लिम्बुवान मञ्च, नेपालले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनमा पहिचानवादी दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएको छ ।

चुनावमा पूर्वमा रिक्त स्थानीय प्रमुखहरूका पदमा पहिचान पक्षधरहरूको विजय सुनिश्चित गर्न पार्टीले मोर्चाबन्दीको सङ्केत गरेको हो । संलिमको प्रवास सङ्गठन सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेले गत बुधबार केन्टमा आयोजना गरेको कार्यकर्ता भेटभाटमा केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर खापुङले आगामी स्थानीय चुनावको तयारी सुरु भइसकेको बताए ।

उनले पूर्वको धरान उपमहानगरपालिका र फाल्गुनन्द गाउँपालिकाको प्रमुखका लागि पार्टीले उम्मेदवारी घोषणा गरिसकेको जनाए । चुनाव आउन डेढ महिना बाँकी रहे तापनि चुनावी परिणाम सुखद् बनाउन सही समयको पर्खाइमा रहेको बताए । ‘एउटै उम्मेदवार खडा गरेर जिताउन घटकहरूबीच राजनीतिक सहमति हुनुपर्छ । हामीले सही दाउ पर्खिरहेका छौं,’ खापुङले भने, ‘राजनीतिक हिसाबले क्षेत्र बाँडफाँड गरेर तालमेल मिलाउन सकिन्छ ।’ निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर एकमा धरान उपमहानगरपालिकाको प्रमुख र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसबाहेक वडाध्यक्षका लागि पाँचथरको फिदिम नपा–१, हिलिहाङ गापा–७, मोरङ घनपालथान गापा–२, सुनसरीको धरान उपमनपा–७, संखुवासभाको खाँदबारी नपा–३, खोटाङको साकेला गापा–३ मा निर्वाचन हुँदैछ ।

यसैगरी, प्रदेशहरूको पुनः सङ्ख्याकरण र नामाकरणको मुद्दा मञ्चले निरन्तर रूपमा उठाइरहने उपाध्यक्ष खापुङले बताए । आफनो पार्टीको अवधारणा ऐतिहासिक पहिचानका आधारमा दस जोड एक प्रदेशहरूको स्थापना रहेको भन्दै संविधान संशोधनका लागि संघर्ष जारी राख्ने बताए । भने, ‘आगामी सङ्घीय र प्रादेशिक निर्वाचनमा पहिचान पक्षधरहरूको बहुमत ल्याएर संविधानका विभेदपूर्ण धाराहरू हटाउने छौं । अहिलेलाई चुनावको उपयोग गरेर जनमत बटुल्ने लक्ष्य छ ।’ उनले राजनीतिक दर्शन र नेतृत्वकै कारण लिम्बुवान सङ्गठनहरूबीच टुटफुट भइरहेको बताए । यद्यपि लिम्बुवानजन्य शक्ति र अन्य पहिचानवादी दलहरूसँगको एकतामा आफू सकारात्मक रहेको प्रस्ट पारे ।

सङ्घीय लिम्बुवान मञ्चबाट प्रतिनिधित्व गर्दै हाल प्रदेश नम्बर एकमा विष्णुमाया तुम्बाहाम्फे सांसद छिन् । उनले प्रदेशको बैठकहरूमा निरन्तर रूपमा प्रदेश नम्बर एकलाई लिम्बुवान नामाकरण गरिनुपर्ने भनेर आवाज उठाइरहेकी छिन् । प्रदेशसभा सत्तारुढ नेकपाबाट ६७, नेपाली कांग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३ र राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संलिमबाट एक÷एक जना सांसदहरू छन् ।

एक महिने यूके भ्रमणमा आएका उपाध्यक्ष खापुङ गत २०७३ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सुनसरी क्षेत्र नम्बर एकका उम्मेदवार पनि हुन् । सो क्षेत्रबाट नेकपाबाट जयकुमार राई विजयी भए । उपनिर्वाचन हुन लागिरहेको धरान उपमहानगरपालिकामा यसअघि पनि नेकपाकै तारा सुब्बा मेयर थिए । उनको गत साल उपचाररत अवस्थामा निधन भएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात् नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि वामपन्थीको किल्ला मानिँदै आएको धरान अझ मजुबत बनेको नेकपाका समर्थकहरूको दाबी छ । यद्यपि, उपाध्यक्ष खापुङले भ्रष्टाचार, आर्थिक अनियमितता र नैतिक अपचलनमा कम्युनिष्ट सत्ता फसेको आरोप लगाउँदै लोकतान्त्रिक र पहिचानवादी शक्तिहरूले उपनिर्वाचनमा नतिजा प्रभावित पार्न सक्ने विश्वास व्यक्त गरे ।

यसैबीच पार्टीको चुनावी अभियानमा सहयोग गर्न प्रवासी सङ्गठनहरू सधैँ जुझारू रहने सङ्घीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष टङ्क खापुङले बताए । उनले पार्टीले घोषणा गरेको ४ वर्षीय योजना सफल पार्न विदेशका १३ प्रवास सङ्गठनहरू सक्रिय रहेको जानकारी दिए । आसफोर्डमा भएको कार्यक्रममा मञ्चका महासचिव राम इजम, प्रवक्ता नवराज काम्वाङ, आसफोर्ड नगर उपाध्यक्ष खगेन्द्र तावा, मेडस्टोनका उपाध्यक्ष केशर एभेङलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति थियो । यसअघि, उपाध्यक्ष खापुङलाई लिम्बुवान नागरिक समाज यूकेका तर्फबाट मिडिया सचिव अमित थेवेले समेत स्वागत, सम्मान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!