सिर्जनाको घेराभित्र सरुभक्त

SHARE:

सुधा गुरुङ
अल्डरसट । पोखरेली मञ्च यूकेको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, मदन पुरस्कार बिजयी वरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेराभित्र सरुभक्त कार्यक्रम भव्य र सभ्य साथ सम्पन्न भएको छ ।

गत ९ नोभेम्बर शनिबार अल्डरसटको एम्पाएर हलमा भएको कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) थिए । कार्यक्रममा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्यसमेत रहेका सरुभक्तको नयाँ उपन्यास प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकापर्ण राजदूत सुवेदीले गरेका थिए । करिब डेढ दशक पछि आफ्नो नयाँ उपन्यास प्रकाशन गरेका सरुभक्तले सो कृतिको गर्भाधान २०६१ सालमा आफू तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रहेका बेला माधवप्रसाद घिमिरेको बहुचर्चित नाटक मालती मंगले लिएर अमेरिका जाने क्रममा ग्याटविक एयरपोर्टमा भएको कुरा बताएका थिए । साथै १५ वर्षपछि सो उपन्यासको बेलायतमा अन्तर्राष्ट्रिय लोकार्पण गर्न पाउँदा आफूलाई अत्यन्त हर्ष लागेको बताए ।

विशेषतः प्रवासी नेपालीहरुको कथाब्यथा समेटिएको सो उपन्यास विदेश बसेका नेपालीलाई मन पर्ने विश्वास आफूले लिएको उनले बताए । विश्वप्रसिद्ध साहित्यकार शेक्सपियरबाट अत्यन्त प्रभावित सरुभक्तले आफ्नो बेलायत यात्रालाई साहित्यिक तीर्थयात्राको उपमा दिएका थिए ।

कार्यक्रम सञ्चालन हरिप्रसाद गुरुङले गरेका थिए भने शुभारम्भमा स्वागत मन्तव्य सहसंयोजक सुधा गुरुङले राखेकी थिइन् । साहित्यकार सरुभक्तको संक्षिप्त परिचय अनेसासका सल्लाहकार डा रुपक श्रेष्ठले दिएका थिए ।
कार्यक्रममा राजदूतले सरुभक्त आफ्नो अत्यन्त निकटका साहित्यिक मित्र रहेको बताउँदै उनका साहित्यिक कृतिहरुलाई समेटेर सुन्दर साहित्यिक शैलीमा परिचय दिएका थिए ।

औसत नेपाली कार्यक्रमभन्दा फरक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन, आशन ग्रहण र भाषण प्रथामा कटौती गरी कार्यक्रमलाई सक्दो चुस्तदुरुस्त बनाउने मनसाय आयोजकको रहेको बताउँदै आमन्त्रित सबै अतिथिहरुलाई एकमुष्ठ स्वागत अभिवादन गरिएको सुधा गुरुङले बताइन् ।

कार्यक्रममा सरुभक्तले आफ्ना मुक्तक र कविता वाचन गर्नुका साथै सञ्चालक हरि गुरुङले सरुभक्तका साहित्यिक यात्रा र उनीसँग अन्तरंग रोचक संवाद गरेका थिए । पोखरेली मञ्च यूकेले बेलायत र पोखरामा खेलकुद विस्तारका साथै भिजिट नेपाल २०२० मा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वेल्समा हाईक फर नेपालको आयोजना पनि गर्दै आएको छ । त्यस अलावा अब कला र साहित्य क्षेत्रमा पनि केही टेवा पुगोस् भन्ने हेतुले पहिलो पटक बेलायतमा यसप्रकारको साहित्यिक कार्यक्रम गरिएको मुख्य संयोजक लालप्रसाद गुरुङ बिईएमले बताए ।

विगत चार दशकदेखि निरन्तर साहित्यमा कलम चलाउँदै आएका सरुभक्तका ५० भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । सरुभक्तको २०४८ सालमा प्रकाशित पागल बस्तीले मदन पुरस्कार प्राप्त गरेको थियो । पुस्तक लेखनका अलावा उनका थुप्रै नाटकहरु मञ्चन भइसकेका छन् । साथै उनले रचेका थुप्रै गीतहरु विभिन्न ब्यान्डहरुले गाएर लोकप्रीय भएका छन् ।

कार्यक्रमलाई थप रोचक बनाउन स्थानीय कलाकारहरु राजु गुरुङ, मधु गुरुङ, लालप्रसाद गुरुङ, विनय पुन, जीवन गुरुङ र पहलमान गुरुङ आदिले सरुभक्तका रचनाका गीत गाएर सुनाएका थिए । कार्यक्रममा २०३६ सालतिर मञ्चन गरिएको सरुभक्तको नाटक ‘एउटा घरको कथा हैन को लाहुरे हुन्छु भन्छन् सबैले’ बोलको गीत तत्कालीन नाटकका पात्र लालप्रसाद गुरुङले गाएका थिए । ४० वर्षअघि आफूले निर्देशन र अभिनयसमेत गरेको सरुभक्तको नाटकका पात्र एकेन्द्र गुरुङ र लालप्रसादलाई बेलायतमा वर्षौ वाद भेट्न पाउँदा औधी खुसी लागेको कुरा उनले उल्लेख गरे । त्यस्तै राजदूत डा सुवेदी र आफू समकालीन साहित्यिक मित्र रहेको पनि उनले बताए ।

कार्यक्रम प्रवेश निःशुल्क राखिएको थियो यद्यपि कार्यक्रम व्यवस्थापनका लागि सहृदयी साहित्यप्रेमीहरुबाट केही अर्थ संकलन गरिएको थियो । संकलित सो रकमबाट खर्च कटाएर बाँकी रहेको रकम पोखरेली मञ्च यूकेका तर्फबाट पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) ले स्थापना गर्न लागेको आधुनिक संगीतका धरोहर स्व संगीतकार अम्बर गुरुङ संगीत कोष स्थापनाका लागि प्रदान गरिनेछ । सो पुरस्कार राष्ट्रियस्तरमा गीत, संगीत विधामा विशेष योगदान पुर्‍याएका स्रष्टालाई प्रदान गरिनेछ । पोयुसांपको स्थापना २०३४ सालमा भएको थियो । सरुभक्त सो संस्थाको सस्थापक सचिव थिए ।

कार्यक्रमको अन्तमा पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले अर्थ संकलनमा साथ दिने सबै सहयोगी हातहरु, पुस्तक बिक्रीमा सहयोग पुर्‍याउने दिदीबहिनीहरु, सरुभक्तको बेलायत आगमनबाट अहिलेसम्म समाचार संप्रेषणमा निरन्तर साथ दिने एभरेस्ट टाइम्स, फोटो पत्रकार मिलन तमु, पत्रकार पूर्ण गुरुङ, एसके गुरुङ, बाचस्पती रेग्मी (शीतलपाटी डटकम), नवीन पोखरेल (वी नेपाली डट कम) लगायत अन्य पत्रकार मित्रहरु, सांगीतिक दल, साउन्ड सिस्टममा कृष्ण गुरुङ, सहुलियत दरमा एम्पायर हल उपलब्ध गराउने पुरन र नारन गिरी लगायत कार्यक्रम सफल तुल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याएका सबै मित्रहरु साथै सहभागी सबै साहित्यप्रेमी दर्शक श्रोताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!