नेपालमा पछिल्लो समय सडक दुर्घटना ह्वात्तै बढेका छन् । दिनहुँजसो भइरहेको सडक दुर्घटनाले चिन्ता पनि बढाएको छ । पछिल्लो एक महिनामा २६३ जना सर्वसाधारणको मृत्यु भएको छ । यो अत्यन्त चिन्ताको विषय हो ।
आइतबार बिहान सिन्धुपाल्चोकको लामोसाघुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भयो । बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको हो ।
मंसिर महिनामा मात्र सिन्धुपाल्चोकका विभिन्न स्थानमा ९ वटा दुर्घटना भएको छ । दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् ।
अन्य जिल्लाको तुलनामा यस महिना सिन्धुपाल्चोकमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ । दोस्रोमा अर्घखाँची छ । मंसिरभित्र अर्घखाँचीका विभिन्न स्थानमा ११ वटा दुर्घटना भए । दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । तेस्रोमा बाग्लुङ परेको छ । मंसिरमा बाग्लुङ जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । दुर्घटना संख्याको आधारमा काठमाडौं पहिलो स्थानमा छ । काठमाडौंमा मंसिरभित्र २ सय ४६ दुर्घटना भएका छन् ।
जसअन्तर्गत मोटरसाइकल एक सय ९०, कार, जिप, भ्यान ६२, बस २१ र ट्रक, टयाक्टर १२ दुर्घटना भएका छन् । यी दुर्घटनामा जम्मा ७ जनाले ज्यान गुमाए भने ३ सय २५ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।
सवारी साधन धेरै दुर्घटना हुने जिल्लामा मोरङ दोस्रोमा छ । मोरङमा मंसिर महिनामा १ सय १५ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४ जनाले ज्यान गुमाए भने १ सय ९४ जना घाइते भएका छन् । मंसिर महिनामा देशभर (७७ जिल्लामा) १ हजार ३ सय ८० सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा २ सय ६३ जनाले ज्यान गुमाएका छन् भने २५ सय भन्दा बढी घाइते भएका छन् ।
यो दुर्घटनाको आँकडाले जिउनै सिरिंग हुने स्थिति देखिएको छ । त्यसैले यस किसिमका दुर्घटनाको दुर्दसाको अन्त्यका लागि सामूहिक प्रयास नै अहिलेको आवश्यकता बनेको छ । यति धेरै दुर्घटना हुँदा पनि सरकारले ठोस कदम नचाल्नुले पनि जनतामा निरासा छाएको छ । अब दुर्घटना न्यूनीकरणका लागि समयमै सचेतताका साथ काम अघि बढाउनुपर्छ ।