एटा संवददाता
पोखरा । एभरग्रीन ग्रुप बेजिङ्गस्टोक यूकेले गोर्खा स्मारक साल्मेडाँडालाई १ लाख सहयोग प्रदान गरेको छ ।
गत १७ डिसेम्बरका दिन साल्मेडाँडामा आयोजित गोर्खा स्मारक ट्रस्ट नेपालको प्रथम वार्षिक साधारणसभामा एभरग्रीन ग्रुप, बेजिङ्गस्टोकका प्रतिनिधिले सहयोग रकम दिएका हुन् । सहयोग रकम एभरग्रीन ग्रुपका सदस्यद्वय लालप्रसाद गुरुङ (बीईम) र सुधा गुरुङ दम्पतीले गोर्खा स्मारक अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा. चन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरे । सो रकम एभरग्रीन ग्रुपले भ्यालेन्टाइन च्यारिटी डिनर २०१९ बाट संकलन गरेको थियो ।
गोर्खा स्मारक ट्रस्टको साधारणसभा पूर्वसभासद प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न थियो । सो कार्यक्रमबाट गोर्खा स्मारक ट्रष्टको ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको थियो । नयाँ कार्यसमिति अध्यक्षमा अल्डरसट यूके निवासी जंगबहादुर गुरुङ, उपाध्यक्षमा कुडुले गाउँका आनबहादुर गुरुङ र महासचिवमा आक्राङ्ग गाउँका डा. चन्द्रबहादुर गुरुङ चयन भए ।

गोर्खा स्मारक निर्माण कार्यका लागि पूर्वसभासद गुरुङको पहलमा ५ करोड र साल्मेडाँडामा पानी प्रोजेक्टका लागि ५५ लाख रुपैयाँ बजेट नेपाल सरकारबाट निकासा भएको जानकारी दिइयो । साथै विभिन्न दाताहरुले पनि सहयोग रकम प्रदान गरिरहेका कार्यक्रम सञ्चालक जंगबहादुर गुरुङले जानकारी गराए ।
गोर्खा स्मारक निर्माण बीचमा केही झमेला आइपरे पनि अब ती सबै बाधा अड्चन दूर भएकोले कामले निरन्तरता पाउने उनले बताए ।
एभरग्रीन ग्रुप बेजिङ्गस्टोकले २०१२ बाट नियमित भ्यालेन्टाइन च्यारिटीको आयोजना गर्दै आएको र हालसम्म बेलायत, नेपालका विभिन्न संघ संस्थाहरुलाई सहयोग पुर्याइसकेको सुधा गुरुङले बताइन् । ग्रुपमा बेजिङ्गस्टोकवासी मन मिल्ने १० जोडा सहभागी छन् ।






