देश र समाजले हामीलाई केही दिएन भन्दै विदेसिनेहरुको जमात ठूलै छ । सँगै वैदेशिक राजेगारीमा जाने अधिकांश मानिसहरु परिवारको उन्नतिमा मात्र केन्द्रित भएका उदाहरण पनि प्रशस्तै छन् । परिवार र समाजको उन्नतिका लागि केही गर्नुपर्छ भन्ने भावनाका मानिसहरु भने विरलै पाइन्छन् । तिनैमध्येका एक हुन्, दुर्गाबहादुर गुरुङ ‘मिलन’ । उमेरले उनी ५० वर्ष भए । जीवनको आधा समय बिताइसकेका गुरुङले आफ्नो जन्मभूमिलाई धेरै सहयोग गरेका छन् । चाहे त्यो शिक्षाको सवालमा होस् या त स्वास्थ्य क्षेत्र । उनले स्थापना गरेको मिलन फाउन्डेशन नेपालले वर्षेनी मुलुकका विभिन्न ठाउँहरुमा आँखा शिविर, विद्यालयहरुमा शैक्षिक सामग्रीहरु प्रदान गरेर योगदान पुर्याउँदै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा चीनको स्वायत्त प्रदेश हङकङ पुगेका गुरुङले आफू र परिवारको मासिक कमाइको निश्चित रकम सामाजिक क्षेत्रका लागि खर्चिदै आएका छन् । विदेशमै बसेर उनी स्वदेशका विभिन्न ठाउँहरुमा सामाजिक कार्य गर्दै आएका छन् । समाजसेवामा लत बसेका दुर्गाले मूलमन्त्र नै सुनाए, ‘समाज र राष्ट्रले मलाई के दियो भनेर होइन मैले समाज र राष्ट्रको लागि के दिन सकिन्छ भनेर सोचिरहेको हुन्छु ।’ हङकङमा बिहान ८ देखि साँझ ५ बजेसम्म काममै व्यस्त हुने गुरुङले सामाजिक कार्यमा मात्र एक करोडभन्दा बढी रकम खर्चिइसकेका छन् ।
पर्वतको साविक बाजुङ गाविसको वडा नम्बर ६ (हाल मोदी गाउँपालिका) मा एक सामान्य परिवारमा २०२४ सालमा जन्मेका गुरुङले पर्वतको महेन्द्र शिखरी माविमा प्राथमिक तहको अध्ययन पूरा गरे । त्यसपछि बागलुङ बजारमा अवस्थित विद्यामन्दिर माविबाट २०४० सालमा एसएलसी उत्तीर्ण गरे । जागिरको कारणले आफ्नो पढाई त्यत्तिकैमा स्थगित गरे । २०४२ सालमा नेपाली सैनिक भइ ८ वर्षसम्म देशको सेवा गरे । जागिरको अधिकांश समय उनको पोस्टिङ तत्कालीन राजदरबारमा भयो । दरबारमै मात्र काम गर्दा दिक्क भएपछि सेनाको जागिरबाट उपदान लिएर छाडिदिए ।
केही वर्ष औषधि व्यवसाय गरेपछि रोजगारीका क्रममा २०५२ सालमा हङकङ हानिए । हालसम्म उनी निरन्तर त्यहीं छन् । सुरुआती दिनहरुमा होटलमा काम गरेका गुरुङ अचेल कन्स्ट्रसन व्यवसायमा आबद्ध छन् । एक छोरा, एक छोरीका पिता दुर्गा श्रीमतीसहित हङकङ बस्दै आएका छन् । त्यहाँ उनले आधा दर्जनभन्दा बढी संघसंस्थाहरुको नेतृत्व गरिसकेका छन् । उनले सुनाए, ‘नेपाल आदिवासी जनजाति महासंघ हङकङको उपाध्यक्ष, तमु एसोसिएसन अफ हङकङको सचिव, पर्वत मञ्च हङकङको सचिव भएर काम गरेँ । हाल यी सबै संस्थाका सल्लाहकार पदमा छु ।’
दुर्गाका बुवा नरबहादुर गुरुङ गाउँका वडाध्यक्ष हुनुहुन्थ्यो, सामाजिक कार्यहरुमा सधै सक्रिय । समाजसेवामै रमाउन खोज्ने बाबुका छोरा भएकाले पनि उनलाई सामाजिक कार्यमा रुची बढेको हो । गाउँको सिद्धार्थ प्राथमिक विद्यालय बन्नुमा उनको बुवाको ठूलो हात छ । ‘बुवाको कामबाट म धेरै प्रभावित थिएँ । मलाई नि सामाजिक कार्यहरु गर्न ठूलो रहर थियो । परिवारिक स्थितिलाई स्तरोन्नति गरेर मात्र हँुदैन, समाजलाई पनि केही दिन सक्नुपर्छ भन्ने मान्यता थियो’, उनले भने ‘हामीले नगरे कसले गर्ने भन्ने सोचले सामाजिक गतिविधिहरु थालेँ ।’
गुरुङले २०७० सालमा आफ्नो जन्मथलो बाजुङमा ‘एक घर एक धारा’ कार्यक्रमका लागि चार लाख नगद सहयोग गरे । १७ लाखको उक्त योजना सम्पन्न गराइ समाजसेवी गुरुङले खानेपानी उपभोक्ता समिति बनाएर समुदायलाई हस्तान्तरण गरिदिए ।
२०७१ सालमा साविक बाजुङ गाविसमा ४२ लाखको लागतमा शिवालय मन्दिर निर्माण भयो । मन्दिर निर्माणका लागि गुरुङ परिवार एक्लैले १७ लाख सहयोग गर्यो । सोही वर्ष सिद्धार्थ प्राविमा ३ कोठे भवन बनाइदिए । उनको पहलमा बनेका बाटाघाटाका संख्या यकिन नै छैन । लायन्स क्लब अफ मोदीकाली पर्वतको अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक हुँदा गुरुङले कुश्मा बजारमा आँखा शिविर समेत सञ्चालन गरेका थिए ।
सामाजिक कार्यहरु गर्ने क्रममा दुर्गाबहादुरलाई आफ्नै संस्थामार्फत कार्यहरु गर्ने सो पलायो । शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य उद्देश्यले दुर्गाले २०७१ सालमा मिलन फाउन्डेशन नेपाल (www.mlianfoundationnepal.org) संस्था स्थापना गरिछाडे । दुर्गाकै संरक्षकत्वमा स्थापित मिलन फाउन्डेशनको विधानमा हरेक वर्ष आँखा शिविर सञ्चालन, विद्यालयमा शैक्षिक, खेलकुद सामग्री प्रदान गर्ने, खानेपानी व्यवस्था गराउने, सरसफाई र डसबीन वितरणलगायत कार्यक्रम छन् । फाउन्डेशनमार्पmत गुरुङले चितवनको पर्सामा अन्तदोय मिलन तेक्वान्दो डोजाङ स्थापना गरेर त्यहाँका १ सय २० जना विद्यार्थीलाई पोसाक तथा खेलकुद सामग्रीहरु पनि हस्तान्तरण गरे । .स्थानीय चेपाङ विद्यार्थीहरु मात्र अध्ययनरत सो विद्यालयमा ४ लाखबराबरको जिन्सी सहयोग गरेको दुर्गाले बताए ।
फाउन्डेशनको पहलमा पाल्पा सुरुमडाँडामा अवस्थित महेन्द्र आधारभूत प्राथमिक विद्यालयमा मिलन पुस्तकालयको स्थापना, विद्यार्थीलाई युनिफर्म, कम्युटर, प्रिन्टर गरी ५ लाखबराबरको सहयोग प्रदान गरिसकेको छ । फाउन्डेशनले पर्वतको मोदी गाउँपालिकाका बाजुङ स्वास्थ्य चौकीलाई अस्पतालजन्य उपकरणहरु, ह्वीलचियर, स्टेचर, इलेक्ट्रोनिक ब्लडप्रेसर मेसिन, औषधिहरु प्रदान गरेको छ । यो वर्ष फोटोकपी, स्क्यानिङ मेसिनहरु प्रदान गरेको गुरुङले जानकारी दिए । नेपालमा २०७२ सालमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितका लागि उनले मिलन फाउन्डेशनमार्फत एक लाख डलरको नगद तथा जिन्सी राहत वितरण गरे । थुप्रैलाई लत्ताकपडा पनि बाँडिएको थियो ।
फाउन्डेशनको अध्यक्षमा दुर्गाकी श्रीमती गंगा गुरुङ छिन् । एक सल्लाहकार, एक सरंक्षकसहित १३ जना फाउन्डेशनको टिममा छन् । गुरुङ संस्थाको संरक्षक । तीमध्ये ६ जना गुरुङ परिवारकै । हङकङमा मासिक १२ लाख जति कमाउने गुरुङ परिवारले वर्षमा ७ लाख रुपैयाँ जति फाउन्डेशनका लागि छुट्याउँछन् र सामाजिक गतिविधिहरुमा खर्च गर्छन् ।
विदेशी तथा दाताहरुको रकम र डोनेसनको माध्यमबाट आफ्नो संस्था नचलेको दुर्गाले दाबी गरे । उनले भने, ‘च्यारिटीको नाममा मिलन फाउन्डेशनले कसैसँग पैसा मागेको छैन, माग्दैन ।’ बरु मिलन फाउन्डेशनलाई कसरी दीर्घकालसम्म कसरी सञ्चालन गराउन सकिन्छ भनेर उनले ५० लाखको अक्षय कोषको अवधारणामा गुरुङ परिवार लागेको छ । यो वर्ष ‘मिलन ट्रष्ट’ स्थापना गरेर १० लाख रुपैयाँ राखिइसकेको उनले जानकारी दिए ।
यस्तै, आफ्नै बुवाआमा नरबहादुर गुरुङ र सावित्रीकुमारी गुरुङ शैक्षिक प्रतिष्ठानको संरक्षक रही दुर्गा गुरुङको परिवारले महेन्द्र शिखरी माध्यमिक विद्यालयमा २०७४ चैतको पहिलो हप्ता २ लाखको अक्षय कोष पनि स्थापना गरेका छन् । त्यत्तिमात्रै होइन, पर्वतको जिल्ला अस्पताल कुश्मामा रहेको आँखा उपचार केन्द्रमा अशक्त, असहाय र गरीब परिवारलाई लक्षित गरेर पाँच वर्षअघि २ लाख रुपैयाँकै अक्षय कोष स्थापना गरिएको थियो । सो अक्षय कोष स्थापनामा मोदीकाली लायन्स क्लब अफ कुश्मा, पर्वतले अगुवाई गरेको दुर्गाले सम्झाए ।
परिवारका सदस्यहरुको सामूहिक प्रयास र लगानीबाट मिलन फाउन्डेशन हाँकेको चार वर्ष भएको छ । परिवारको खर्चबाट कार्यक्रमहरु गर्नुपर्ने भएकाले अब सीमित र प्रभावकारी कार्यक्रमहरु मात्रै गर्ने गुरुङको योजना छ । ‘स्वास्थ्य शिविरलाई जसरी भए पनि निरन्तरता दिने अनि शिक्षा क्षेत्रमा पनि सहयोग जारी राख्छौं’ दुर्गा भने । मिलन फाउन्डेशनको कार्य क्षेत्र निर्धारित छैन । नेपालका विभिन्न ठाउँहरुमा यसले सहयोग गर्दै आएको छ । फाउन्डेशनले अहिले विशेष रुपमा पर्वत, कास्की, लमजुङ, गोर्खा, पाल्पा अनि बाग्लुङमा सेवा पुर्याइसकेको छ ।
दुर्गाबहादुरको सामाजिक कार्यलाई नेपाल सरकारको स्थानीय तहले पनि साथ दिएको छ । मोदी गाउँपालिकाले उनको सामाजिक कार्यप्रतिको लगावलाई खुलेरै साथ दिएको हर्षित हुँदै उनले भने । फाउन्डेशनले आयोजना गर्ने स्वास्थ्य शिविरहरु र गाउँमा ‘डस्टबिन’ वितरण गर्ने क्रममा गाउँपालिकाले साथ दिँदै आएको हो । पर्वतको कुश्मा नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा पनि व्यवस्थापकीय कार्य सबै नगरपालिकाले गरिदिएको थियो ।
सकारात्मक भावनाबाट प्रेरित दुर्गाबहादुरले हङकङमा दुःख गरेर कमाएको पैसा स्वदेशमा पनि खर्चिएका छन् । फाउन्डेशनमार्फत सामाजिक कार्यहरुमा खर्चमात्र होइन, उनले राज्यलाई करसमेत तिर्दै आएका छन् । आफ्नो खर्चमा सामाजिक काम गरे पनि राज्यलाई कर तिर्नुपर्नेमा उनी दृढ देखिन्छन् । दुर्गाबहादुरले सामाजिक कार्यमा मात्रै नभइ चलचित्र क्षेत्रमा पनि लगानी गरेका छन्, मिलन डीजी इन्टरनेसनल प्रालि नामक आफ्नै प्रोडक्सन हाउस खोलेर ।
प्रालिबाट हालसम्म उनकै तीनवटा फिल्महरु निर्माण भए । बलेनी चलचित्र डीजी इन्टरनेसनलको पहिलो प्रस्तुति हो । गुरुङ संस्कार, संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्रो छे (भेडी गोठाले) दोस्रो र तेस्रोमा बाजुङ भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र रहेको छ । सबै फिल्म तथा वृत्तचित्रमा दुर्गाबहादुरको आफ्नै लगानी छ । सबै चलचित्रका कार्यकारी निर्माता उनी आफैं छन् । भेडी गोठाले चलचित्रमा उनले अभिनय पनि गरेका छन्, जहाँ दुर्गाले समाजसेवीको रुपमा अभिनय गरेका छन् ।
गुरुङ संस्कार र संस्कृतिमा झुकाव राख्ने दुर्गाबहादुर आफ्नो समुदायका लागि केही गर्न चाहन्छन् । आफ्नो संस्कार संस्कृति, रीतिरीवाज, चाड संरक्षण, संवद्र्धन गर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले चलचित्र क्षेत्रमा लागेको उनले बताए । गुरुङ चलचित्रबाट गुरुङ संस्कार, संस्कृति जगेर्ना गर्ने उनको बुझाइ छ ।
ॐ संस्कार, संस्कृतिको दस्तावेज पनि रहने र गुरुङ कलाकारहरुले अवसर पाउने भएकोले चलचित्र क्षेत्रमा उनी लोभिएका हुन् । उनी चलचित्र प्रदर्शनबाट उठेको रकम पनि सामाजिक कार्यमै खर्च गर्छन् । ‘अहिलेसम्म चलचित्र सो गरेबापतको रकम मिलन फाउन्डेशनले लिएको छैन । च्यारिटी आयोजक संस्थालाई नै सबै पैसा दिने गरेको छु’, उनले यथार्थ बताए, ‘चलचित्र निर्माणबाट लगानी उठाउने मेरोे ध्येय छैन ।’ दुर्गाबहादुर हाल गुरुङ फिल्म एशोसिएसन हङकङको सल्लाहकार छन् ।
xxx
उनी राज्यलाई केही दिन सकिन्छ कि भनेर निरन्तर रुपमा दौडिरहेका छन् । रोजगारीबाट कमाएको रकमको केही अंश सामाजिक कार्यमा लगाउने उनी सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाउँछन् । तर, समाजलाई केही गर्नुपर्छ भन्ने सेवाभावबाट प्रेरित दुर्गाबहादुरको योगदानलाई राज्यले कदर गर्न सकेको छैन ।
उनको जीवनको अन्तिम लक्ष्य नै समाजसेवा हो । मान्छेको अन्तिम यात्रा कहिले र कसरी हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले उनले संस्था खोलेर काम गर्न थालेका हुन् । आफ्नो संस्थालाई सहयोग गरिदिनु पर्यो भन्दै उनी हिँड्ने मान्छे होइनन् । आफूले भ्याएसम्म सहयोग गर्ने उनले प्रस्ट्याए । मिलन फाउन्डेशनले राम्रो काम गरेको छ है भनेर आफ्नो संस्थामा आउन खोज्ने मानिसहरुसँग उनी हातोमालो गरेर अगाडि बढ्न तयार छन् । स्वेच्छाले मिलन फाउन्डेशनमार्फत् काम गर्न चाहनेका लागि सधैं ढोका खुला रहेको उनले बताए ।
हुन त, हिँड्ने मान्छेलाई ठेस लाग्छ । त्यस्तै, दुर्गाबहादुरलाई विभिन्न मानिसहरुले आरोप लगाउने गरेका छन् । हङकङमा उठाएर ल्याएको पैसाले सामाजिक काम गर्छ, उब्रेको पैसा खान्छजस्ता आरोपहरु लाग्ने गरेको उनले गुनासो गरे । ‘आफू गलत छैन भने कसैले केही गर्न सक्दैनन्,’ सम्हालिँदै उनले भने, ‘आलोचकहरु नभए त मान्छेले प्रगति नै गर्न नसक्लान् सायद ।’ सामाजिक कामबाट राज्यलाई योगदान दिन सकिन्छ भनेर लागि परेको मान्छेलाई विभिन्न आरोपहरु आउने गरेका उनले बताए । प्रमाण पुर्याएर बोल्न उनको आग्रह छ ।
.
मोदी गाउँपालिकाका प्रमुख प्रेमप्रसाद पौडेलले भने–‘विदेशमा काम गरेको पैसाको केही रकम सामाजिक कार्यमा खर्च गर्ने मानिसहरु धेरै कम हुन्छन् । यस्ता मानिसहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’ दुर्गाबहादुरकै पहलमा गाउँमा शुद्ध खानेपानी पिउन पाएको मोदी गाउँपालिका स्थानीय सरिता गुरुङले बताइन् ।
दुर्गाबहादुरका कामबाट गाउँले प्रायःसबै खुसी छन् । उनकै पहलमा धेरैले गुमेको नेत्र पाए, नेत्रहीन हुनबाट धेरै जोगिए । गाउँलेहरु स्वास्थ शिविरबाट लाभान्वित बनेका छन् । विद्यार्थीहरु गुरुङ परिवारको सहयोगलाई बिर्सन नसक्ने महेन्द्र शिखरी माविका प्रधानाध्यापक यामबहादुर अधिकारीले बताए ।
प्रस्तुति : टीकाराम तामाङ/


