गुरुङ रामप्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार गनगाई जातिको जनसंख्या महिला १८ हजार ६ सय ३ जना र पुरुष १८ हजार ३ सय ६५ जना गरी जम्मा ३६ हजार ९ सय ८८ जना तथ्याङकमा उल्लेख छन् ।
गनगाई जातिलाई नेपाल सरकारले जनजातिभित्र पर्ने एक जाति हो भनेर सूचिकृत गरेका छन् । जनजाति भित्र पनि आर्थिक र शैक्षिक रुपमा पछाडि परेको जातिभित्र पर्दछ । दश पन्ध्र लाख जनसंख्या भएको जनजातिभित्र ३६ हजारको हाराहारीमा जनसंख्या भएको गनगाई जाति कम जनसंख्या पर्ने जातिभित्र पर्दछ ।
नेपालको सबै क्षेत्रमा गनगाई जातिको बसोबास गरेको बस्तिहरु भेटिन्न । नोपलको पनि पूर्वी क्षेत्रको निश्चित क्षेत्रमा बसोबास रहेकाछन् । मंगोल अनुहारको गनगाइ जाति नेपालको झापा र मोरङ जिल्लाको केही बस्तिहरुमा बसोबास गरेको पाइन्छ । गनगाइ जातिलाई कतै मण्डल त कतै गणेश नामले चिनिने गर्दछ । यी जातिको प्राय जसोको थेप्चो नाक, सम्म परेको गाला, कपाल घुम्रेको र गहुँगोहो बर्णका भएकाले यिनीहरुलाई लेप्चा जातिसंग पनि तुलना गरेको पाइन्छ ।
गनगाई जातिका मान्छेहरु एउटै भाषा बोल्ने गरेको देखिन्न । एउटै जाति भएता पनि मोरङ जिल्लातिर बसोबास गर्ने गनगाई जातिले मैथिली भाषा बोल्ने गर्दछ । त्यस्तै झापा जिल्लामा बसोबास गर्ने गनगाई जातिले राजबंशी भाषा बोल्ने गर्दछ । फरक–फरक ठाउँमा बस्ने गनगाई जातिहरुका मान्छेहरुले फरक–फरक भाषा बोलेको देख्दा यी जातिको आफ्नै मातृ भाषा छैन की भन्ने लाग्छ । गनगाइ जाति जनजाति समुदायमा सूचीकृत गरेता पनि र मंगोल अनुहारको भएता पनि हिन्दु धर्म मान्ने गर्दछ । गनगाइ जातिको सम्पूर्ण जन्मदेखि मृत्युसम्मको कार्यहरु हिन्दु धर्मको संस्कार र विधि अनुसार गर्ने गर्दछ । विशेष गरी गनगाइ जाति महावीर र ठाकुरको पूजा गर्ने गर्दछ ।
गनगाइ जातिको मुख्य पेशाको रुपमा पशुपालन, कृषि र मजदुरी गर्नु हो । उनीहरु पशुपालनलाई विशेष प्राथमिकता दिने गर्दछ । यी जातिभित्र पनि अच्चम–अच्चमको पशुपालन भेटिन्छ । कुनै गनगाइ जातिले पशुपालनमा सुंगुर पनि पाल्ने गर्दछ । कुनै जातिले फेरि सुंगुर पाल्ने काम नै गर्दैनन् । थोरै–थोरै जमिन भएकोले आफ्नो कमाइले वर्षदिन खान पुग्दैनन् । त्यसैले उनीहरु अर्काको जग्गा जमिन कमाउने र अरुको घरमा मजदुरी काम गर्ने गर्दछ । आफ्नो जग्गा जमिनमा उत्पादन भएका अन्नले थोरै महिनासम्म मात्र खान पुगेपछि अरुको घरमा काम गर्न जानु रहर भन्दा पनि बाध्यता हो । यो बाध्यताबाट गनगाइ जाति पनि अछुतो रहन सकेन । कसरी ज्यान बचाउने भन्ने मात्र मान्छेमा चिन्ता भएपछि अरु कुराको प्रगति हुन सक्दैन । यिनीहरु शिक्षा क्षेत्रमा त्यतिका साह्रो अगाडि नरहेका कारणले नै हुन सक्छ सरकारी जागिरमा पनि सहभागिता देखिन्न ।
नेपालमा भएको १ सय २५ जातिमा एक सय पच्चिस प्रकारकै मृत्यु संस्कारको चलनहरु देखिन्छ । एउटा जातिको एक प्रकारको छ त अर्को जातिको अर्के जातिको । कसैले मृत लासलाई जलाउने गर्दछ । त कसैले मृत लासलाई गाड्ने गर्दछ । फेरि कुनै जातिले मृत लासलाई मान्छेहरुले मासुको व्यापार गरे जस्तो टुक्रा–टुक्रा पारेर चिल र गिद्धलाई ख्वाउने गर्दछ । गनगाइ जातिमा मानिसको मृत्यु भइहालेमा गाड्ने चलन छैन । उनीहरु मृत लासलाई जंगलमा लगेर जलाउने गर्दछ । अनि मृत्यु संस्कारलाई हिन्दु धर्मको परम्परा अनुसार सक्ने चलन गनगाई जातिमा रहेको छ ।
सन्दर्भ सामाग्री
– लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
– लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
– लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
– लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
– सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
– लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक धिमाल जातिबारे लेख प्रकाशन गरिनेछ)


