लन्डन । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पतीले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उनीहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो ।
शाही दरबारको यो निर्णयसँगै उनीहरुले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर उनीहरुलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।
“महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु,” ९३ बर्षिय महारानीले वक्तव्यमा लेखेका छन् ।
दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । दरबारको यो निर्णयसँगै उनीहरु अब राजपरिवारका औपचारिक सदस्य नरहने हुनुभएको वक्तव्यमा जनाइएको छ ।
ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताए । केही समयको प्रेम सम्वन्धपछि उनीहरुले २०१८ मा विवाह गरेका हुन् ।
राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ बर्षको भएका छन् भने उनकी श्रीमती मेघन ३८ बर्षको भएकी छन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए ।