– शेरू चतुर्वर्ण
ग्रेज एसिक्स । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेको नवौं साधारणसभा सम्पन्न भएको छ ।
गत आइतबार ६ मे मा शाखा अध्यक्ष दलकुमार आङदेम्बेको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि केवाईसी युके केन्द्रीय समिति महासचिव गणेश इजम थिए । सचिव शेरबहादुर इङ्नामले सञ्चालन गरेको सभामा छलफल र निर्णयको अभिलेख सहसचिव राधा खजुमले गरेका थिए ।
शाखा र केन्द्र दुबैसँग सम्बन्धित जानकारी र छलफल पहिलो खण्ड गरिएको थियो भने शाखासँग मात्र सरोकार भएको (आन्तरिक) छलफल र निर्णय दोस्रो खण्ड गरिएको थियो । औपचारिक कार्यक्रम आरम्भ भएपछि शाखाका अध्यक्ष दलकुमार आङदेम्बेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि प्रमुख अतिथि इजमले केवाईसी युकेलाई जग्गा किन्नु पर्ने भन्दै सबैको ध्यानाकर्षण गराए ।
प्रथम खण्डको सभा सकिएपछि शाखाको आन्तरिक छलफल मात्र राखिएको थियो । आन्तरिक छफफल अनुसार शाखाको कोषाध्यक्ष लक्ष्मी लिबाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले पारिवारिक शोकमा परेकालाई दिइने आर्थिक सहयोगबारेमा पनि प्रस्ट पारिन् । उनका अनुसार केन्द्रको निर्णय निर्देशन अनुसार शाखा सदस्यहरूको वा परिवारको देहान्त भएमा आर्थिक सहयोगको व्यवस्था आ–आफैं गर्ने प्रावधान सुरु गरिएको छ ।
शाखा सचिव शेर इङनामले यसबारे १६ बुँदे शर्तावली प्रस्तावस्वरुप व्याख्या गरेका थिए । त्यसक्रममा वार्षिक सदस्यता शुल्कदर फेरबदल गर्नेबारे पनि छलफल भएको थियो ।
अन्त्यमा सभाध्यक्ष आङदेम्बेले बैठकको लागि खानपिनमा सहयोग गर्ने निर्मला अन्छङ्बो, राधा आङदेम्बे, हेमकुमारी कुरुम्भङ, आशा मादेनलगायत उपस्थित सबैलाई धन्यवाद दिँदै सभा समापन गरेका थिए ।


