सहारा र एनआरएनएबीच मैत्रीपूर्ण खेल सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । ‘स्वास्थ्यका लाग खेलकुद’ भन्ने मूल नाराका साथ सहारा युके र एनआरएनए युकेबीच मैत्रीपूर्ण खेल भएको छ ।
सहारा युकेको आयोजनामा गत आइतबार १३ मे का दिन अल्डरसटस्थित कनट स्कुल परिसरमा खेल सम्पन्न भएको हो । नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख एवं प्रमुख अतिथि शरदराज आरणले रेफ्री गम गुरुङलाई बल प्रदान गरी सुरु भएको सो खेलमा एनआरएनए युकेले ४ गोलविरुद्ध सहारा युकेलाई ६ गोल हानी विजय प्राप्त गर्यो‍ ।

कार्यक्रममा प्रमुख अतिथि आरणले मैत्रीपूर्ण खेलको आवश्यकता औल्याउँदै यसको निरन्तरता हुनुपर्नेमा जोड दिए । त्यस्तै, एनआरएनए युकेका अध्यक्ष योग फगामीले खेल अत्यन्त मनोरञ्जनपूर्ण भएको बताउँदै आगामी वर्ष पनि खेल्नु पर्नेमा जोड दिए । एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले अर्को पटक टिम संख्या बढाउनुपर्ने सुझाव दिँदै सहारा एकेडेमीका लागि सहयोग गर्न बेलायतवासी नेपालीहरुलाई आह्वान गरे ।

नेपाली दूतावास लन्डनका तृतीय सचिव तेजेन्द्र रेग्मीको समेत विशेष उपस्थिति रहेको प्रतियोगिताबाट बचत भएको र प्रायोजन गरिएको सहयोग रकम सहारा एकेडेमी पोखरामा रहेका २८ जना अनाथ बालबालिकाहरुको सहयोगार्थ स्थापना गर्न लागिएको दुई करोड रुपैयाँको अक्षय कोषमा सहयोग गरिने सहारा युकेका मिन गुरुङले जानकारी दिए । त्यस्तै, उनले एनआरएनए युकेले समेत सो कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गुरुङले जनाए ।

सो खेलमा प्रमुख अतिथि आरणले विजयी टिमका २० खेलाडीलाई गोल्डमेडल र उपविजेता सहारा युके टिमलाई सिल्भर मेडल प्रदान गरे ।

सहारा एफसीका चेयरमेन ले.रि. कुसाङ्ग गुरुङको संयोजकत्वमा सम्पन्न सो कार्यक्रमलाई सहारा युकेका अध्यक्ष मिन गुरुङ, धनु थकाली, ज्ञाम गुरुङ, भेटघाट रेस्टुरेन्टलगायत सहारा युकेका कार्यसमितिका पदाधिकारीहरुले खेलमैदान र मेडलहरुको प्रायोजन गरेका थिए ।

आयोजक सहारा युकेले खानाको समेत व्यवस्था गरेको कार्यक्रममा एनआरएनए आईसीसी सदस्य शान्ति थापा कुँवर, एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री र मुछेत्र गुरुङलगायत विभिन्न संघसंस्थाका अग्रजहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुआतमा सहारा युके र एनआरएनए युकेबीच मायाको चिनो साटासाट गरिएको कार्यक्रममा सहारा युकेका महासचिव कृष्ण गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!