एटा संवाददाता
अल्डरसट । रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच औपचारिक कार्यक्रमका साथ भगिनी सम्बन्ध गाँसिने भएको छ ।
आउने ३० जनवरीका साँझ साढे ६ बजे रस्मुर बरो काउन्सिलको कार्यालयमा बरो काउन्सिल र नगरपालिकाबीचको भगिनी सम्बन्धलाई औपचारिक रुप दिनका लागि हस्ताक्षर कार्यक्रम आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा सहभागी हुनका लागि गोर्खा नगरपालिकाका प्रमुख राजेशबाबु पन्त र उपमेयर बिनाकुमारी श्रेष्ठ सहितको टोली २९ जनवरी बुधबार लन्डन आउँदैछ । उनीहरुले २९ जनवरीदेखि १ फेब्रुअरीसम्म रस्मुर बरो काउन्सिलको भ्रमण गर्ने बताइएको छ ।

ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेको विशेष पहलमा दुवै स्थानीय निकायबीच मितेरी सम्बन्ध गाँसिएको हो । सोही सम्बन्धलाई औपचारिक रुप दिनका लागि सो हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो ।
औपचारिक हस्ताक्षर कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको समेत विशेष उपस्थिति रहने ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेका उपाध्यक्ष मान गुरुङले जानकारी दिए ।
त्यस्तै, हन्स्लो काउन्सिलका काउन्सिलर बिष्णु गुरुङ, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी थापामगर, गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि, सल्लाहकार लगायतको विशेष सहभागिता रहने उपाध्यक्ष गुरुङले बताए ।
त्यस्तै, ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूके र गोर्खाली समाज यूकेले सोही ३० जनवरीको दिउँसो २ बजे नेपालबाट आउने गोर्खा नगरपालिकाका मेयर तथा उपमेयरको स्वागतार्थ एक स्वागत कार्यक्रम आयोजना गर्न लागिएको ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेका उपाध्यक्ष एवं स्वागत कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिएका छन् । साथै, उनले रस्मुर बरो काउन्सिलको टोलीले पनि आउने समरमा गोर्खा नगरपालिकाको भ्रमण गर्ने विश्वास व्यक्त गरे ।
रस्मुर बरो काउन्सिलअन्तर्गत रहेको अल्डरसट र फार्नबरो टाउन भूतपूर्व गोर्खाजहरुको बाक्लो बसोबास रहेको टाउनको रुपमा परिचित छ । साथै, मेलिटरी टाउनको रुपमा परिचित अल्डरसटमा अहिले क्युओजिएलआर गोर्खाली पल्टनसमेत रहेको छ ।
त्यस्तै, नेपालीहरुले पनि आप्mनो व्यापार तथा व्यवसाय गर्ने थलोको रुपमा अल्डरसटलाई रोजेको छ । रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच गाँसिन लागेको भगिनी सम्बन्धले दुवै स्थानीय निकायको मात्र होइन नेपाल तथा बेलायतको सम्बन्ध समेत अझै गाढा हँुदै जाने र भिजिट नेपाल २०२० लाई समेत सफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धेरैको विश्वास रहेको छ ।






