काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

महराद्वारा आभार प्रकट
जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गरेका छन् ।
अदालतको आदेशसँगै डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै आज एक वक्तव्य जारी गर्दै उनले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गरेका हुन् । “यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु”, महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने टिप्पणी गरेका छन् । संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।







