चीनमा फैलिएको कोरोना भाईरसको महामारीका कारण मृत्यु हुनेको संख्या करिब १८ सय पुगेको छ । चीनको हुबेई प्रान्तमा आइतबारसम्म थप सय जनाको मृत्युपछि मृतकको संख्या १ हजार ७ सय ७० पुगेको हो । चिनिया नेशनल हेल्थ कमिसनका अनुसार आइतबारसम्म एक हजार ९ सयभन्दा बढी संक्रमित भेटिएका छन् । जसअनुसाार हालसम्म संक्रमितको संख्या ७१ हजार २ सय ४ नाघेको छ ।
भविष्यमै मृतक र संक्रमितहरुको संख्या विस्तारै कम हुँदै जाने चिनिया नेशनल हेल्थ कमिसनले विश्वास लिएको छ । हालसम्म यो भाईरस नियन्त्रण गर्ने अचुक औषधि वा भ्याक्सिन बनिसकेको छैन । विश्वभर त्रास फैलाइरहेको महामारीका कारण चीनलाई विश्वका कैयौं देशले यात्रा प्रतिबन्धको घोषणा समेत गरेका छन् । नागरिकहरुको परीक्षण, उपचार र सहयोगका लागि हरसम्भव प्रयास गरिरहेको चिनिया नागरिक मामिला मन्त्रालयले जनाएको छ । जसअनुसार कोरोना प्रभावित क्षेत्रका हरेक समुदायमा कम्तिमा आठजना सामुदायिक कार्यकर्ता परिचालन गरेको छ । हरेक सामुदायिक कार्यकर्ताले तीनसय जनालाई हेर्छन । जनशक्ति, स्वयंसेवक, चिकित्सक, आवश्यक औषधी र अन्य सामाग्रीहरुको कमी हुन नदिएको मन्त्रालयले जनाएको छ ।
यो भयावह स्थितिको बेला चीनको वुहानमा रहेका १७५ जना नेपालीहरुको नेपाल सरकारले उद्दार गरेको छ । आइतबार बिहान उनीहरुलाई काठमाडौं ल्याएको छ । उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिएको छ । यो घटनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ । विदेमा विपत पर्दा नेपाल सरकारले हेर्छ भन्ने सबै नेपालीलाई सन्देश दिएको छ ।
नेपाल सरकारले कसैलाई पनि केही गर्दैन भन्ने हौवा सावित भएको छ । यस्तो बेला नेपालीहरुलाई कोरोना प्रभावित क्षेत्रबाट उद्दार गरेर ल्याउँदा उनीहरु निकै खुशी भएका छन् । मानसिक रोगी हुनबाट उनीहरु जोगिएका छन् । यस्तो स्थितिमा पक्कै पनि नेपाल सरकारले नेपालीमाथि गर्नुपर्ने मानवीयता प्रस्तुत गरेको छ । यसले नेपाल सरकारप्रति विश्वमा रहेका नेपालीको विश्वास आर्जन गरेको छ ।
हुन त यो राज्यको दायित्व पनि हो । आफ्ना जनताले पाएको सुखदुःखमा नेपाल सरकारले उद्दार गर्नु उसको कर्तव्य पनि हो । जिम्मेवारी पनि हो । यो जिम्मेवारीलाई निर्वाह गरेर नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको छ । यसले सरकार जनताप्रति गम्भीर छ भन्ने कुराको पुष्टि गरेको छ ।