नेपालभर महाशिवरात्रि पर्व मनाइँदै, चार लाख दर्शनार्थी पशुपतिमा

SHARE:

पूर्णप्रसाद मिश्र
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले सुनाइन् ।

 

कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्‍यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाए ।

दिउँसो २:३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गरेको अनुमान गरिएको जानकारी पनि प्रशासकीय अधिकृत अधिकारीले बताए । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । आज रातभर दर्शनार्थीका लागि पशुपतिका चारै ढोका खुला हुनेछ ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।

दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्नुहुने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!