लालबहादुर पुन
लन्डन । बेलायतभर छरिएरका मगरहरुको साझा संस्था मगर संघ यूकेले मगर एकता तथा ३८ औं मगर स्थापना दिवस र १४३ औं लखन थापा स्मृति दिवस मनाएको छ ।
गत २२ फेब्रुअरी शनिबार रेडिङ्गस्थित रिभरमेड लेजर कम्प्लेक्समा ऐतिहासिक मगर एकता दिवस मनाइएको हो । मगर एकता दिवस हरेक वर्ष फागुन १५ गते मनाइन्छ । प्रवासमा संगठित भएकाहरुले भने अनुकूलतामा अघि–पछि मनाउँदै आएका छन् ।
नेपालमा आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा मगर जाति छन् । र, बेलायतमा समेत करिब ४० हजार मगरहरुको बसोबास रहेको विश्वास गरिन्छ ।
मगर जातिको आफ्नै भाषा, कला, मौलिक संस्कार, धर्म र संस्कृति रहेको छ । सोही भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनका लागि मगर संघ यूकेको स्थापना भएको हो ।
आजभन्दा ३८ वर्षअघि सम्पन्न मगरहरुको ऐतिहासिक भेलालाई देश–विदेशमा बसोबास गर्ने मगरहरुले मगर एकता दिवसको रुपमा मनाउँदै आएको छ । सोहीअनुरुप गत शनिबार मगर संघ यूकेले बेलायतमा पनि विविध सांस्कृतिक कार्यक्रमका साथ दिवस मनाएको हो । सो अवसरमा मगरहरुका कला र संस्कृति प्रस्तुत् गरिएको थियो ।
बेलायतमा रहेका हजारभन्दा बढी मगरहरु भेला भएको कार्यक्रममा मगर संघ यूकेका विभिन्न शाखा, खामभाषी मगर, पुन मगर समुदायले मगरहरुको कला र संस्कृति प्रस्तुत् गरेका थिए । सो अवसरमा पूर्वीनेपालका मगरहरुको हुर्रा नाच, पाल्पा जिल्लामा नाचिने झ्याउरे नाच, तनहुँ जिल्लामा नाचिने कौडा नाच, लुम्बिनी र गण्डकी क्षेत्रमा नाचिने घाँटु, सालैजो, सोरठी र ठाडो भाका, बागलुङ क्षेत्रमा नाचिने नचरी, म्याग्दीमा नाचिने पुर्खेउली तथा थाली र नेपालको पश्चिम राप्तीतिर नाचिने सरंगे नाच प्रस्तुत् गरिएको थियो ।
सांस्कृतिक कार्यक्रम सचिव सरल राना र सांस्कृतिक सचिव सरु रानाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । त्यस्तै, ‘मगर फेसन शो’ लाई ट्रस्टी गोमा राना र सांस्कृतिक सचिवले सञ्चालन गरेका थिए ।
नेपालको भौगोलिक बनावटको कारणले मगरहरुको भेषभूषा र भाषासमेत स्थान अनुसारको फरक–फरक पाइन्छ । मगर संघको मूल उद्देश्य भनेको मगरहरुको भाषा, धर्म, लिपि, भेषभूषा, चाडपर्व, संस्कार, संस्कृति, पहिचान लगायतको संरक्षण गर्नु हो । त्यसबारे संघकी सल्लाहकार देवी आलेले जानकारी गराएकी थिइन् ।
केन्द्रीय उपाध्यक्ष छविमाया पुनले सञ्चालन गरेको ३८ औं मगर दिवस तथा १४३ औं लखन थापा स्मृति दिवसको भाग्यशाली चिठ्ठा महिला मगर संघ रेडिङ शाखाकी निवर्तमान अध्यक्ष भानु बुढाथोकीले पहिलो पुरस्कारस्वरुप एक तोला सुन प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित हास्य कलाकार ‘काउली बूढी’ तथा स्थानीय कलाकार मनसुदन थापा र ब्यन्क्या पुनले आ–आफ्ना कला प्रस्तुत् गरेका थिए ।
नेपालबाट आएकी पूर्वसांसद, मगर महिला संघ नेपालकी संस्थापक, आदिवासी जनजाति महिला संघकी संस्थापक अध्यक्ष तथा मगरहरुको जिउँदो इतिहासविद् बमकुमारी बुढामगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लन्डनका तृतीय सचिव तेजेन्द्रद्ररेग्मी र एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहा लगायत बेलायतमा क्रियाशील संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति थियो ।
मगर संघ यूके केन्द्रीय अध्यक्ष लेप्टेन सुनिल रानाको अध्यक्षता, उपाध्यक्ष लालबहादुर पुनको संयोजनमा सम्पन्न ३८ औं मगर दिवसको औपचारिक कार्यक्रमलाई महासचिव रुद्रद्रथापाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सबैको उपस्थितिलाई मध्यनजर राख्दै बेलायतका विभिन्न सहरबाट बसको व्यवस्था गरिएको थियो ।