पोखरा । यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लबद्धारा संचालित सहारा एकेडेमीको लागि बार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो कितावमै पार्ने बताएका छन्।
सहारा एकेडेमीको मंगलबार पोखरामा अवलोकन गर्दै मन्त्री सुनारले राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा क्लबको प्रशंसा गर्दै आउँदो वर्षदेखि वार्षिक ५ लाख दिने गरी रातो किताबमै पार्ने तयारी भएको बताएका हुन् । सहारा क्लबले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटबल एकेडेमीसहित वार्षिक रुपमा आहा रारा गोल्डकप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सबैलाई गर्वानुभूति भएको मन्त्री सुनारले उल्लेख गरे ।
प्रतिकुलताका बावजुद नेपालको खेलकुदले फड्को मारेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई बाँचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहाभागिलाई वाचुञ्जेल मासिक ४ हजार प्रदान गर्ने गरि सरकारले नीति बनाएको बताए ।
राज्यले र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको जनाए । उनले भने “अव खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ, अव कुनै द्विविधा छैन, खेलसंगै शिक्षा पनि आवश्यक छ ।”
मन्त्री सुनारलार्ई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए । सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहाकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य योगेश गुरुङ, सदस्य नरजङ्ग गुरुङ्ग लगाएतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फ बाट स्वागत गरेका थिए ।
यसैबिच, मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए ।