रोशनी गुरुङ
दमौली तनहुँ । गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको आयोजनामा शुक्रबारबाट तनहुँको दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव भएको छ । तमु भाषा र संस्कृतिमा आधारित भइ निर्माण गरिएको तथा जिफानमा दर्ता भइ छनौटमा परेका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिएको हो ।
महोत्सवको उदघाटन गर्दै प्रदेश न ४ का आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले अब प्रदेश न ४ भित्र निर्माण गरिने सबै चलचित्र यही प्रदेशमै दर्ता गर्ने व्यवस्था मिलाउने बताएका छन् । साथै उनले प्रदेश स्तरीय कला साहित्य र संगीत एकेडेमी स्थापना गरिने बताएका छन् । गुरुङ चलचित्रकर्मीहरुले आउने दिनमा गुणस्तरीय चलचित्र निर्माण गर्नुपर्ने उनको भनाइ छ । यस्तै प्रदेश न ४ का सांसद मनबहादुर गुरुङले तमु चलचित्रको मार्फत सबै तमुहरुलाइ एकताको सुत्रमा बाँध्ने काम गर्दै सबैको मनभित्र बस्न सफल भएको भन्दै सम्पुर्ण तमु चलचित्रकर्मीहरुलाइ धन्यवाद दिनुभयो साथै उहाँले आगामी दिनमा चलचित्र सम्बन्धि निति नियम बनाउनको लागि आफुले प्रदेश सभामा पहल गर्ने बताए।

कार्यक्रममा तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद) तनहुँका अध्यक्ष खेमराज गुरुङले चलचित्रको माध्यमबाट लोपोन्मुख अवस्थामा रहेको भाषा संस्कार र संस्कृतिलाई संरक्षण गर्न पहल गर्नुपर्ने बताए । यस्तै जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले प्रदेश न ४ को बजेटमा कला साहित्य र संगीतको लागि विशेष बजेट छुट्याउनुपर्ने बताए । यस्तै आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले प्रदेश न ४ लाई समृद्ध बनाउने हो भने तमु चलचित्रलाई महत्त्वका साथ हेरिनुपर्ने बताए । प्रदेश सांसद दोबाटे वि.क ले चलचित्र मार्फत समाजमा रहेको विभेदलाई हटाउनका निम्ति पहल गर्नुपर्ने बताए । प्रदेश सांसद सरिता गुरुङले महोत्सवले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए ।
दुईदिने महोत्सवमा पहिलो दिन जसु गुरुङद्वारा निर्देशन गरिएको चलचित्र कर्म क्याँ (कर्मको बाटो) प्रदर्शन गरिएको छ भने दोस्रो दिन भोजबहादुर गुरुङद्वारा निर्देशन गरिएको चलचित्र मैरिमो (सम्झी रहेछु), गुन्ज बहादुर गुरुङद्वारा निर्देशन गरिएको चलचित्र समीङ्ही (श्रीमान/श्रीमती) र खुसबहादुर गुरुङद्वारा निर्देशन गरिएको चलचित्र ङै माया क्योंलाइ (मेरो माया तिमीलाई) गरी महोत्सव अवधिभर कुल चार वटा चलचित्र प्रदर्शन गरिएको जिफानका केन्द्रिय अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए ।
तनहुँको दमौली स्थित उद्योग वाणिज्य संघको सभाहलमा सन्चालन भएको महोत्सवको उदघाटन समारोह जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने महासचिव गमन घलेले कार्यक्रम सन्चालन गरेका थिए । जिफान तनहुँ शाखा सह-आयोजक रहेको महत्सवमा देशभरका तमु चलचित्रकर्मीहरु तथा तनहुँका विभिन्न स्थानबाट तमु चलचित्र प्रेमी दर्शकहरुको व्यापक सहभागिता रहेको छ । महोत्सवको उदघाटन पुर्व निकालिएको र्यालीले दमौलीको विभिन्न भाग परिक्रमा गरेको थियो । सो अवसरमा जिफान केन्द्रिय समितिले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको छ । कार्यक्रममा तमु चलचित्रका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।


