एटा संवाददाता
लन्डन । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउँदो मे महिनाको २४ देखि २६ तारिखका दिन बेलायतमा आयोजना गर्ने भनिएको राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । सम्मेलन आयोजना गर्ने व्यवस्थापकीय जिम्मेवारी लिएको किरात राई यायोक्खा बेलायतभित्र देखिएको आन्तरिक विवादका कारण सम्मेलन अन्योलमा परेको हो ।

गत शनिबार २९ फेबु्रअरीका साँझ अल्डरसटस्थिट भेटघाट रेस्टुरेन्टमा किरात राई यायोक्खा बेलायतद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राईले सम्मेलनको व्यापक तयारीका साथ सार्वजनिक घोषणा गर्ने, विश्वभर फैलिएर बसोबास गरेका किरात राईहरु सबैमा खुसीको खबर प्रचार गर्ने उत्कृष्ट चाहना भए तापनि संस्था संकटग्रस्त अवस्थामा रहेकोले ‘व्यवस्थापन गर्न सकिँदैन, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं’ भने । उनले भने, ‘यो संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म, पुनःस्थापना नभएसम्म सम्मेलन अनिश्चित कालसम्मका लागि स्थगित गर्न वा अन्यत्रै गर्न किरात राई यायोक्खा केन्द्रद्रनेपाललाई यसै पत्रकार सम्मेलनमार्फत हार्दिक अनुरोध गर्दछौं ।’
पत्रकार सम्मेलनमा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राईले ‘मिति २ नोभेम्बर २०१९ मा बसेको किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको बैठकले संस्थाको अध्यक्ष र उपाध्यक्ष साथै किरात राई यायोक्खा बेलायतको अन्तर्राष्ट्रिय विभाग प्रमुख सुमनचन्द्रद्रराई दुई जिम्मेवार व्यक्तिहरु मिलेर किरात राईहरुको महान् चाड साकेला उभौली–२०२० र अन्तर्राष्ट्रिय सम्मेलनको मिति तय गर्ने जिम्मेवारी दिएको भए तापनि अध्यक्ष कल्पना राईले जिम्मेवारी दिएको व्यक्ति तथा कार्यसमितिको कुरा नसुनी, सहमति नलिई, प्रमुख आयोजक किरात राई यायोक्खा केन्द्र नेपालसँग मिलेर एकल निर्णयमा किरात राईहरुको महान् चाड साकेला उभौलीलाई अर्थहीन ढंगले किरात राई अन्तर्राष्ट्रिय सम्मेलनकै मितिमा सारेको बताउँदै सामान्यतया, किरात राई यायोक्खा बेलायतले आफ्नो स्थापनाकालदेखि तिथिमितिअनुसार वर्सेनि बुद्ध पूर्णिमाको निकटतम सप्ताह अन्तमा वा पहिलो शनिबार मनाउँदै आएको किरात राईहरुको महान् चाड साकेला उभौली पाहुनालाई खुसी पार्ने नाममा अनावश्यक मितिमा सारेपछि संस्थाभित्र र बाहिर समुदायमा यसको व्यापक आलोचना हुँदै आएको जनाए । उनले, ‘किरात राई समुदायमा तिथिमिति भन्दा फरक तिथिमितिमा चाड पर्व मनाउनुलाई अशुभ मानिने’ समेत जिकिर गरे ।
संस्थाकी अध्यक्ष कल्पना राईले अवैधानिक रुपले संस्थाको जग्गामा निर्माण भएको संरचनालाई प्राथमिकता दिएको, संस्थाको सातौं सम्मेलनमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय नभएको, आफूखुसी कार्यसमिति विस्तार गरेको, कार्यसमितिले निर्णयबिना नै अधिकार प्रयोग गरी अघि बढ्दै गएपछि त्यसो नगर्न आफूहरुले पटक–पटक अनुरोध गरेको भए तापनि उनको कार्यशैली सच्चिनुको सट्टा बढ्दै गएकोले उनीविरुद्ध संस्थाको विधानको धारा २२ बमोजिम एक तिहाई सदस्यहरुले अविश्वास प्रस्ताव पेस गरी ७ डिसेम्बरदेखि तीन महिनासम्म निलम्बन गरेको बताउँदै कार्यवहाक अध्यक्ष राईले ‘विधानतः ७ मार्चभित्र उहाँले स्पष्टीकरण दिनुपर्नेछ । यदि त्यो समयसीमाभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए विधानअनुसार साधारणसभा बोलाइने र त्यो अधिवेशनमा दुई तिहाइ मत ल्याए उहाँ अध्यक्ष यतावत हुनुहुनेछ नत्र पदच्यूत हुने वैधानिक प्रावधान छ’, भने ।
संस्थाकी महासचिव चन्द्रवती राईद्वारा सञ्चालित पत्रकार सम्मेलनमा संस्थाका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार पदम राईले विवादबीच बलजफ्ती सम्मेलन गर्न लागिएको र आन्तरिक झगडा किरात राई यायोक्खा केन्द्र नेपाललाई अवगत गराउँदासमेत बेवास्ता गरेकाले पत्रकार सम्मेलन आयोजना गर्नुपरेको जनाए ।
संस्थाकी उपमहासचिव प्रमिला लावुङ्ग राईले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राई, उपाध्यक्ष जितेन्द्र साम्पाङ्ग, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई, सदस्यहरु बिनोद राई, गंगाराज राई, भिम राई, मिलनचन्द्र राई, रोजी राई, किरात राई यायोक्खा ग्रेटर रस्मुरका ध्रुवसरी राई लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राई, प्रमुख सल्लाहकार पदम राई, उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राई, उपाध्यक्ष जितेन्द्रद्रसाम्पाङ्ग, उपमहासचिव सचिव प्रमिला लावुङ्ग राई लगायतले पत्रकारहरुका जिज्ञासा मेटाएका थिए ।
संस्थामा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरु सुमनचन्द्रद्र राई, जितेन्द्रद्रसाम्पांग राई, निलम राई, मेजर रिटायर्ड दिलकुमार राई, महासचिव चन्द्रवती राई, उपमहासचिवहरु प्रमिला लाबुंग राई र सनवीर राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई र सावित्री राई, सदस्यहरु राजेन्द्र राई, विनोद राई, गंगाराज राई, भीम राई, सन्देश राई, मिलनचन्द्रद्र राई र रोजी राई, भिमल राईको समूह एकतिर छन् भने अध्यक्ष कल्पना राई केही पदाधिकारीसहित अल्पमतमा छिन् ।
स्मरण रहोस्, किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा मे २४ देखि २६ सम्म बेलायतमा भारत सिक्किम प्रान्तका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको प्रमुख आतिथ्यमा आयोजना गरिने कल्पना राईले गत ८ फेब्रुअरीका दिन किरात राई यायोक्खा यूकेको अध्यक्षको हैसियतले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएकी थिइन् ।



