एटा संवाददाता
म्याग्दी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ७ चिम्खोला अमर माध्यमिक विद्यालयमा ‘चिम्खोले काइँला छात्रवृत्ति’ वितरण गरिएको छ ।
साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काइँला) ले स्थापना गरेको छात्रवृत्ति एक कार्यक्रमबीच शुक्रबार वितरण गरिएको हो । यस वर्ष विन्ध्यावासिनी क्याम्पस पोखरामा म्यानेजमेन्ट विषय लिई ब्याचलर डिग्री, दोस्रो वर्ष अध्ययनरत दीक्षा गर्बुजा, शंकरदेव क्याम्पस काठमाडौंमा म्यानेजमेन्ट विषय लिएर व्याचलर डिग्री, दोस्रो वर्ष अध्ययनरत रोशना पुन, बेनी बहुमुखी क्याम्पस म्याग्दीमा शिक्षा विषयमा ब्याचलर डिग्री, दोस्रो वर्ष अध्ययनरत नेस्मिता पुन र सोही क्याम्पसमा शिक्षा विषय लिइ व्याचलर डिग्री प्रथम वर्ष अध्ययनरत रुश्मा बुढाले चिम्खोले काइँला छात्रवृत्ति पाएका छन् ।

त्यस्तै, पृथ्वीनारायण क्याम्पस पोखरामा होटेल म्यानेजमेन्ट विषय लिइ व्याचलर डिग्री दोस्रो वर्षमा पढिरहेकी मिया पुन, बेनी बहुमुखी क्याम्पस म्याग्दीमा शिक्षा विषय लिई व्याचलर डिग्री पहिलो वर्षमा अध्ययरत मनिषा पुन र पश्चिमाञ्चल क्षेत्रीय विश्वविद्यालय पोखरामा इञ्जिनियरिङ विषयमा व्याचलर डिग्री, चौथो वर्षमा अध्ययनरत धबिन पुनलाई जनही १४,००० रुपैयाँको दरले वितरण गरिएको छ ।
चिम्खोले काइँला छात्रवृत्ति अक्षय कोषको धनराशि १० लाख रुपैयाँ रहेको छ । १० लाख रुपैयाँको अक्षय कोषबाट आउने ब्याजबाट हरेक वर्ष चिम्खोला गाउँबाट अध्ययनका सिलसिलामा अन्यत्र तर नेपालमा ब्याचलर डिग्री, मास्टर डिग्री र पीएजडी मा अध्ययनरत तथा निम्न आय भएका छात्र तथा छात्राहरुलाई चिम्खोले काइँला छात्रवृत्तिद्वारा सम्मान गरिन्छ ।
चिम्खोले काइँला अक्षय कोष दुई वर्ष अगाडि (सन् २०१८) मा दुत पुन (चिम्खोले काइँला) परिकल्पनामा स्थापना गरिएको हो ।
गत वर्ष अंग्रेजी विषय लिइ ब्याचलर दोस्रो वर्ष, बेनी बहुमुखी क्याम्पस म्याग्दीमा अध्ययनरत चिम्खोला निवासी अनिता सुनार र इञ्जिनियरिङ विषय लिएर ब्याचलर डिग्री तेस्रो वर्ष, पश्चिमाञ्चल क्षेत्रीय विश्वविद्यालय पोखरामा अध्ययनरत धविन पुनलाई जनही २५,००० रुपैयाँकोे दरले सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलप्रसाद गर्बुजाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा हिमालयन आमा समूह चिम्खोलाका अध्यक्ष बुद्धिमाया पहराई पुन प्रमुख अतिथि थिए । विशेष अतिथिहरुमा अमर माविका प्रधानाध्यापक पृथ गर्बुजा, समाजसेवी अमृत गर्बुजा, वडा सदस्य लक्ष्मण पुन र साहित्यकार निलम गर्बुजा थिए । सो कार्यक्रम अमर माविका शिक्षक कप्रसाद गर्बुजाले सञ्चालन गरेका थिए भने समाजसेवी अमृत गर्बुजाले स्वागत मन्तव्य दिएका थिए ।


