काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएका छन् । पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोना भाइरसको सङ्क्रमण विस्तार भएको बताउँदै उनले त्यसले आफूलाई गम्भीर बनाएको बताएका छन् ।
एकै समयमा एउटा रोग एकभन्दा धेरै देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा चित्रण गरिन्छ । डाक्टर टेड्रोसले महामारी भन्नुको अर्थ डब्लूएचओले देशहरूलाई चाल्नुपर्ने कदमका बारेमा दिएका सुझावमा परिवर्तन नगरिएको उल्लेख गरे ।
उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन देशहरूले ‘तत्कालै र आक्रामक स्तरमा’ कदमहरू चाल्नुपर्ने बताए । उनले कैयौँ देशहरूले यो भाइरसलाई दबाउन र नियन्त्रण गर्न सकिन्छ भनेर पुष्टि गरिरसकेको बताए । उनको अपिलसँगै कैयौँ देशहरूले भाइरसलाई नियन्त्रणमा लिन थप कदमहरू चालेका छन् ।
भारतले पनि सबै पर्यटक भिसा बन्द गर्यो
विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका छन् । साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।
भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ । आजै मध्यरातिदेखि भारतले यस्ता भिसाहरु बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ ।
भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ । ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् । तर यसबाट कसैको मृत्यु भने भएको छैन ।
युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेका हुन् । ब्रिटेनलाई भने यो नियम लागु हुने छैन । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै र्पुयाउन भने नरोकिने बताएका छन् । इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ह्वातै बढेको बताइएको छ ।



