विश्वको महामारी बनेको कोरोना भाइरसले जो कसैलाई पनि नछाड्नसक्छ । त्यसैले सबैले सतर्कता अपनाउँदै अरुलाई पनि सचेत गराउनुपर्ने दायित्व सबैका सामू आएको छ । यो दायित्व र कर्तव्यबोध गर्दै कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ ।
अहिले सर्वत्र कोरोना भाइरसको त्रास छ । लाखौंमा यो भाइरसको संक्रमण छ । पाँच हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी छ । यो संक्रमणबाट जोगिन सबैभन्दा पहिला उच्च सतर्कता नै हो । यो सतर्कताले मात्र हामीलाई सुरक्षित बनाउन सक्छ ।
कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि स्वास्थ्य सम्वन्धी उच्च सतर्कता अपनाउन जरुरी छ । यो संक्रमण सबैभन्दा बढी हात मिलाउने, अंकमाल गर्ने, संक्रमितले छोएको सामग्री छुँदाको अवस्थामा उच्च जोखिम हुने गर्दछ । विशेषत: र्यालबाट सर्ने यो रोगबाट बच्नका लागि भीडभाड नहुने स्थानमा पुग्दा बच्न सकिन्छ । बढी भीडभाड हुने स्थानमा संक्रमितबाट एकैपटक धेरैमा संक्रमण हुनसक्छ । त्यसैले सकेसम्म भीडभाड हुने स्थानहरु फिल्म हल, सेमिनार, कार्यक्रम स्थल, बैठक जस्ता स्थलहरुमा नजान र सतर्कता अपनाउन विश्वव्यापी आव्हान भएको छ ।
अहिले नेपालमा पनि यसबारे व्यापक छलफल भएको छ । सतर्कता अपनाउनका लागि सबैले आआफ्नो स्थानबाट आव्हान पनि गरिरहेका छन् । आइतबार मात्र सार्क मुलुकका सरकार प्रमुखहरुले भिडियो कन्फरेन्समार्फत् एकअर्कामा कोरोनाविरुद्ध लड्ने उद्घोष गरेका छन् । यो बैठकले साझा धारणा निर्माण भएको छ । यसले पक्कै पनि प्रतिरोध र सुरक्षाका लागि सही दिशा दिएको बुझ्न सकिन्छ । अझ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोनाबाट सुरक्षित रहेको भन्दै थप सुरक्षित राख्न प्रयत्नशील रहेको बताउनुले नेपालीमा हर्षानुभूति मिलेको छ ।
अहिले बेलायत लगायत युरोपियन मुलुकहरु पनि कोरोनाबाट आक्रान्त छ । बेलायतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । यस्तो बेलामा सतर्कताका लागि बेलायतमा बसोबार गर्ने सबै नेपालीले सक्रियताका साथ ध्यान दिन जरुरी छ । पछिल्लो समय देखिएको कोरोना संक्रमणले सबैलाई सरसफाईका साथै न्यानो ठाउँमा बस्नका लागि सचेत पनि गराएको छ । यसमा सबैले ध्यान दिन जरुरी छ । गैरआवासीय नेपाली संघ, बेलायतले सतर्कता अपनाउनका लागि सबैमा अपिल समेत गरिसकेको छ । संस्थागत रुपमा उसले अपिल गर्नुलाई सकारात्मक रुपमा लिँदै व्यक्तिगत रुपमा सबै सचेत बन्दै अघि बढ्नुको विकल्प छैन ।