नेपालका अधिकांश ठाउँका नागरिकले मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । विभिन्न जिल्लामा धुमधामका साथ मनाउने चैतेदशैँलाई परम्परालाई निरन्तरता दिने र नयाँ पिढीँलाई संस्कृति हस्तान्तरण गरी परिचित गराउने अवसरका रुपमा समेत लिइन्छ । बुधबार नेपालभर दसैं मनाइँदैछ । धेरै जना सहर र गाउँमा एक ठाउँमा बस्न पाएका छैनन् । गाउँघरतिर पशुबलि चढाएर वा काटमार गरेर दसैंका लागि मासुजन्य वस्तु जोहो गरिएको छ भने काठमाडौं उपत्यका लगायत सहरमा लकडाउनका कारका एकाध ठाउँमा मात्रै लुकिछिपी मासु खाने तयारीमा स्थानीय छन् । प्राय सबै मासु पसल बन्द छन् ।
मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा रहेको चैतेदशैँ यो पटक लकडाउनका कारण परम्परा त्याग्न बाध्य हुनुपरेको नागरिक बताउँछन् । चैतेदशैँ मनाउने चाहना हुँदाहुँदै पनि लकडाउनका कारण बजार नखुल्दा र घर बाहिर जान नपाउँदा सामग्री खरिद गर्न नपाएको सर्वसाधारणको गुनासो छ ।
यो पटक कोठामा रेडियो सुन्दै र टिभी हेर्दै चैतेदसैंको स्वागत तथा बिदाइ हुन लागेको उनीहरुको भनाइ छ ।

चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दशैंको आफ्नै विशेष स्थान रहेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।
असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।
दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।
वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।
चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । तर यसपटक कोरोना भाइरसको त्रासका कारण दसैंको बाहिर गतिविधि प्रभावित बनेको छ ।
मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसका लागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।
असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भईरहोस् ।






