दुर्गाप्रसाद पोख्रेल
प्रकृति र वातावरण विषयमा काव्य लेखन आफंैमा अति सुन्दर पक्ष हो । हामीले माया गर्ने प्रकृति नै कवितामा उतारेर वातावरणीय साहित्य उर्वर बन्दै गइरहेको छ । भूक्षय, बस्ती विकाससँगै निम्तिएको नदी र सिमसारहरूको नाश, जीवजन्तुको विनाशबाट सिर्जित असन्तुलित बायो डाइभर्सिटी, बढ्दो कार्वन उत्सर्जनबाट भइरहेको ओजोन तहको ह्रास, वन विनाश र प्रकृतिमाथिको मानवीय अत्याचार आदि आजका जल्दाबल्दा वातावरणीय समस्याहरू हुन् ।
यसै सन्दर्भमा वातावरण संरक्षणप्रति आम चासो बढ्नु पर्ने वर्तमान अवस्थामा समाजका विशेष चेतनशील एवं भावनात्मक प्राणी साहित्यकार समुदाय मौन रहन सक्दैन । नेपाली साहित्य पनि यसर्थ वातावरणसम्बन्धी साहित्यप्रति चनाखो बन्दै आएको छ ।
हामी बेलायतमा बस्ने नेपालीहरूको पनि साहित्यको यस विशिष्ट विधाप्रति श्रद्धा र निष्ठा बढेको छ । हरेक वर्ष एकदिन लन्डनमा वातावरण साहित्य गोष्ठी विशेष रुपमा मनाउनु र यसमा सबै साहित्यिक संस्थाहरूको स्वःस्फूर्त रुचि देखिनुले यसको सन्दर्भ र महत्तालाई उजागर गर्दछ । कार्यक्रमको सभापति लालीगुराँस र कविताको विषयवस्तु वातावरणसम्बन्धी हुने गोष्ठीले समुदायमाझ वातावरणसम्बन्धी जन चेतना र आल्हादमय काव्यिक भावना दुवैलाई अनुस्यूत गरेको छ ।
गतवर्षको गोष्ठीमा उत्कृष्ट कविता पुरस्कारबापत प्राप्त लालीगुराँस मेरो बगैंचामा नेपाल र प्रकृति दुबैको गौरव र शोभा बढाइरहेकी छिन् । गोष्ठीमा वाचित कविताहरूको संग्रह निकाल्ने सामूहिक सोचअनुरुप विस्तार हुँदै गरेको वातावरणीय साहित्यिक क्षेत्रमा ‘स्वच्छन्द सुसेलीहरू’ शीर्षकमा नवनीत पुस्तक निस्कनु नितान्त नै स्तूत्य छ । बेलायतमा रहेका समस्त साहित्यिक संस्थाहरू एउटै थलोमा जम्मा भई गरिएका यस्ता सामूहिक सत्प्रयासहरू नै असली साहित्य सेवा हुन् । साहित्यिक सिर्जनाका साथ आफ्नो वातावरण र प्रकृतिको संरक्षण सम्वद्र्धन गर्ने महनीय कार्य समाजका लागि एक उदाहरण बन्न जानेछ ।
यस सुन्दर वातावरण कवितासंग्रह प्रकाशनको सुअवसरमा मेरो व्यक्तिगत एवं नेपाल मुक्तक प्रतिष्ठानका तर्फबाट म कवि विजय हितानजी एवं समस्त संस्थाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । संग्रहमा संग्रहित सबै कविताका सर्जकहरूमा हार्दिक बधाई तथा सिर्जनशील जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।


