एटा सम्वाददाता
लण्डन । तमु कलाकार सांस्कृतिक मञ्चको अध्यक्षमा चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनी गत आइतबार २० मे २०१८ मा लन्डन ह्यारोमा सम्पन्न मञ्चको अधिवेशनबाट निर्विरोध चयन भएका हुन् । त्यस्तै, सो नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमार गुरुङ, सचिवमा कृष्ण गुरुङ, कोषाध्यक्षमा दिनेश गुरुङ र सहकोषाध्यक्ष सिर्जना गुरुङ चयन भएका छन् भने शशी गुरुङ र याम गुरुङ सदस्यमा चयन भएका छन् ।
मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत रुपमा २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गरेका थिए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयोजक गुरुङले सपथ ग्रहण गराएका थिए । सो निर्वाचन समितिमा तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ र चन्द्रध्वज गुरुङ सदस्य रहेका थिए ।
मञ्चका अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव कृष्ण गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष केवल गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


