कोरोनाका कारण दुईजना सदस्य गुमायौंः तमु धिं युके

SHARE:

नन्दजंग गुरुङ, अध्यक्ष, तमु धिं युके 

पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण नेपाली समुदाय बेलायतमा सक्रिय संघसंस्था मध्येका एक तमु धिं युकेले आफूहरुले दुईजना सक्रिय सदस्य गुमाइएको बताएका छन् । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले नेपाली समुदायलाई के कस्तो असर गरिरहेको छ र नेपालीहरुको वास्तविक अवस्था के कस्तो छ भन्ने बिषयमा बेलायतस्थित केहि नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत गरिएको कुराकानीको क्रममा तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले बताएका हुन् ।

बेलायत सरकारले गत २४ मार्च देखि देशभर लकडाउन गरेको छ । यसबीच कोभिड–१९ ले बेलायतमा करीब २७ हजारजना भन्दा बढीको ज्यान लिईसकेको छ भने एक लाख ७० हजार भन्दा बढी कोरोना पोजिटिभ भएका छन् । अहिले सिंगो विश्वनै भाईरससंग जुधिरहेको अवस्थामा बेलायतमा बस्ने नेपालीहरु पनि धेरै प्रभावित भएका छन् । त्यस्तै, कोरोना भाईरसका कारण बेलायतमा रहेका कतिपय नेपालीहरु बेरोजगार भएका छन् भने कतिपय नेपालीहरु फ्रन्टलाईनमा जोखिम मोल्दै काम गरिरहेका छन् । त्यस्तै, कतिपय अस्पताल र घरमा बसेर कोरोना भाईरससंग लडिरहेको अवस्था छ ।

यसैबीच तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले, धेरैजसो साथीहरुको जागीर गुमेको, केहि आफ्नो नजिकको परिवार नभएका वृद्धवृद्धाहरुलाई सहयोगको खाँचो रहेको, कतिपय साथीहरु कोरोनाबाट संक्रमित भएर कोही अस्पतालमा उपचार गरिहेको, कतिपय घरमै सेल्फ आईशोलेसनमा बसिरहेको विभिन्न शाखाले रिपोटिङ्ग गरिरहेको बताए । त्यस्तै, उनले बिशेष गरी कोरोनाका कारण घर बाहिर निस्कन नसक्ने वा नमिल्ने वृद्धवृद्धा जेष्ठ नागरिकहरुलाई औषधी र खाद्यन्न खरीदका लागि बेलायतमा रहेका विभिन्न शाखाहरुले सहयोग गर्दै आइरहेको जनाए । साथै, उनले ‘कोरोनाबाट अप्ठ्यारोमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले राहत संकलन कार्य शुरु गरिएको छ,’ भने । तमु धिं युके बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको च्यारिटी संस्था समेत भएकोले केहि राहत उपलब्ध हुन्छ कि भन्ने बिषयमा आपूmहरुले सम्बन्धित निकायमा बुझिरहेको समेत बताए ।

अहिलेसम्म कोभिड–१९ का कारण थुप्रैले ज्यान गुमाएको अवस्थामा तमुधिं युकेले समेत तमु धिं लण्डन ईकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङ र आजीवन सदस्य लक्षिणबहादुर गुरुङको निधन भएको अध्यक्ष गुरुङले दुःखद् खबर सुनाउदै लामो समयसम्म आईसियुमा उपचार गरिरहेका साँस्कृतिक सचिव ईन्द्र गुरुङको स्वास्थ्य केहि राम्रो भएर हाल सामान्य वार्डमा सारिएको समेत जनाए ।

सन् २००० सालमा स्थापना भएको तमु धिं युकेले २१ बर्षको ईतिहास बनाईसकेको छ र यसबीच गोर्खा कप फुटबल प्रतियोगिता र नेपाली मेला जस्ता नेपाली कला र संस्कृति संग सम्बन्धित कार्यक्रमको आयोजना गर्दै आएको छ । बेलायतमा एक लाख भन्दा बढीको संख्यामा नेपालीहरु रहेको अनुमान गरिन्छ । बिशेषगरी भूतपूर्व ब्रिटिश गोर्खा सैनिक र तीनका परिवारलाई बेलायतमा बस्ने अनुमति दिएपछि बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि भएको हो ।

स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन लगायत उद्देश्यहरुका साथ करीब ३०० भन्दा बढी नेपाली संघसंस्थाहरु स्थापना भएका छन् । र, आफ्नो संस्थाको उद्देश्य अनुरुप विभिन्न कार्यक्रमको मितितय गरिसकेको अवस्थामा एक्कासी काल बनेर आएको कोरनोना भाईरसका कारण निर्धारित कार्यक्रमहरु पुरै स्थगित भएको छ । जसका कारण अत्यन्त लोकप्रिय खेल कार्यक्रमहरु गोर्खा कप, यलम्बरहाङ्ग फुटबल प्रतियोगिता, नेपाली ओपन कन्सर्ट, नेपाल तथा इंल्याण्डबीच पहिलोपटक बेलायतमा आयोजना हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता स्थगित हुन गएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!