नुवाकोट (घलेगाउँ) । पञ्चकन्या जनकल्याण युवा समाजले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि पञ्चकन्या गाउँपालिकाले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
घलेञ्ज्याङमा रहेको गाउँपालिकाको अस्थायी कार्यालयमा पुगी सोमबार समाजका तर्फबाट नगद २५ हजार २५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई समाजका अध्यक्ष टीकाराम तामाङले हस्तान्तरण गरेका हुन् । पहिलो चरणमा समाजका कार्यसमितिका पदाधिकारी/सदस्यहरुबाट संकलन गरेर गाउँपालिकाको राहत कोषमा रकम जम्मा गर्ने वैशाख ८ गतेको निर्णयअनुसार सहयोग हस्तान्तरण गरिएको जनकल्याण युवा समाजका सचिव सरोजकुमार खातीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष तामाङले सहयोग प्रदान गर्ने पञ्चकन्या जनकल्याण युवा समाजलाई धन्यवाद दिँदै राहत वितरणमा गाउँपालिकालाई ठूलो मद्दत पुग्ने बताए । ‘थुप्रै संघसंस्थाले सहयोग गरिरहेको सन्दर्भमा पञ्चकन्या जनकल्याण युवा समाजले सहयोग गरेको छ । भलै यो तपाईंहरुका नजरमा थोरै रकम लाग्न सक्छ । तर हामीले ठूलै रकम महसुस गरेका छौं’, अध्यक्ष तामाङले भने, ‘यसले धेरै सहयोग पुग्छ ।’
जनकल्याण युवा समाजले स्थापनाकालदेखि नै चीरपरिचित हुँदै जनताका काम गर्दै अगाडि बढिरहेकोमा प्रशंसा गर्दै अध्यक्ष तामाङले आगामी दिनमा दु:ख पर्दा सहयोग पाइरहने आशा व्यक्त गरे । अध्यक्ष तामाङले स्थानीय सरकारको तर्फबाट युवा समाजलाई दिने सहयोग निरन्तर रहने वचनबद्धता पनि व्यक्त गरे ।
त्यस्तै समाजका अध्यक्ष टीकाराम तामाङले विपद् र अरु अवस्थामा स्थानीय सरकार र नागरिकसँग हातमालो गरेर अघि बढ्न सदैव तयार रहेको बताए । उनले विगतमा २०७२ सालको भूकम्पबाट प्रताडित गाउँवासीका लागि एक घर एक झुल वितरण, अति विपन्न परिवारलाई देश विदेशबाट रकम उठाएर टहरा निर्माण जस्ता राहत उद्धारको कार्यमा जनकल्याण युवा समाज लागेको स्मरण गरे ।
सहयोग प्रदान गर्नेक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पराजुली, वडा नं ३ का अध्यक्ष रामबाबु पराजुली लगायत जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारीहरु सहभागी थिए ।
त्यस्तै समाजका तर्फबाट महासचिव निर्मला तामाङ, सचिव सरोजकुमार खाती, कोषाध्यक्ष रामहरि भण्डारी, सदस्यहरु सुनिल दोर्जे लामा, रामकुमार कार्की लगायतको उपस्थिति थियो ।


