एटा संवाददाता ।
लण्डन । मातृभूमि नेपालमा कोरोना संक्रमण र प्रभाव बढ्दै गईरहेको अवस्थामा नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग पुग्ने गरी नेपालका ७ वटै प्रदेशमा २/२ वटा अक्सिजन मेशिन (कन्सनट्रेट) उपलब्ध गराउने निर्णय गरेको छ । गत आइतबार २८ जुन २०२० को दिन विद्युतीय माध्यमबाट सम्पन्न कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले सो मेशिनहरु उपलब्ध गराउनका लागि अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य संयोजक डा.सुनिल शाहलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
साथै, बैठकले कोरोना संक्रमणको कारण बेलायतमा मृत्यु भएका भक्त दमाईको परिवारलाई ५ सय पाउण्ड आर्थिक सहयोग गर्ने, एनआरएनए यूके लाई च्यारिटीमा दर्ता गर्ने पूर्व निर्णयलाई सदर गर्दै यस सम्बन्धि सबै प्रक्रिया पुरा गर्नको लागि उपाध्यक्ष सुनिलबाबु खड्काको संयोजनमा आवश्यकता अनुसार एक समिति निर्माण गर्दै सम्पूर्ण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै, एनआरएनए यूकेको कोभिड–१९ सहयोग अभियान अन्तर्गत संकलन गर्दै आएको सहयोग संकलन अभियानलाई अन्त्य गर्ने निर्णय गर्दै जुलाईको पहिलो हप्ता सम्म सहयोग संकलनको अन्तिम मिति तोकिने तर पहिले अनुरोध गरिएका र प्रतिवद्दता आइसकेको सहयोग भने लिइने निर्णय गरेको छ । एनआरएनए यूकेको कोभिड–१९ सहयोग अभियान समेत संकलन रोकिए संगै वर्तमान सहयोग अभियान समापन हुने समेत जनाइएको छ ।
एनआरएनए आइसीसी सदस्यहरु शुसिला राई, दयानिधी सापकोटा, राम शरण सिंखडा, अर्कराज तिम्सेना, योग कुमार फगामी तथा कार्यसमितिका २३ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको उक्त बैठकले एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगिता मार्फत ६४ जना वालवालिकाहरु सहभागी भएको र चित्र मुल्यांकनको प्रक्रिया पुरा भईसकेको संयोजक नारायण कंडेलले जानकारी दिए । साथै, प्राप्त चित्रहरुलाई दस्तावेजको रुप दिदै रंगिन चित्र पुस्तिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ । वाल दिवसको अवसरमा नतिजा र प्रकाशन सहित सार्वजनिक गरिने र आवश्यकता अनुरुप प्रतियोगिताको पुरस्कार राशीको व्ययभार एनआरएनए यूकेले लिने बताइएको छ ।
त्यस्तै, बैठकले उपाध्यक्ष प्रेम गाहा मगरले जानकारी गराए अनुसार कोरोनाका कारण मृत्यु भएका थप ३ परिवारले सहयोग मागेमा पूर्ण विवरण प्राप्त भए पश्चात सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । साथै, उपाध्यक्ष रोजिना प्रधान राईले ‘कोभिड–१९ को नेपाली महिला माथिको प्रभाव’ अन्तर्गत एउटा वेबइनार सम्मेलन गर्न राखेको प्रस्तावलाई पारित गरेको छ । साथै, बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोका मगरले विशेषत कोभिड–१९ सम्बन्धि आय व्यय तथा आर्थिक अपडेट गरेका थिए । साथै, सहयोग संकलन संयोजक तथा इंगल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले सहयोग प्रतिवद्धता बारे जानकारी गराएका थिए ।
सबै उपाध्यक्षहरुले आआफ्नो विभागीय प्रतिवेदनको प्रस्तुत् गरेको बैठकमा एनआरएनए यूकेको हेल्पलाईन अपडेट हेल्पलाईन सचिवालयको तर्फबाट गरिएको थियो । त्यस्तै, एनआरएनए यूकेले संचालन गरेको कोभिड–१९ सहयोग संकलन र राहत वितरण बारेको प्रगतिको समिक्षा गर्दै यस बारेको भावि कार्यदिशा निर्दिष्ट हुनेगरी व्यापक छलफल भएको थियो । साथै, वैठकमा अहिले बेलायतमा कोभिड–१९ को प्रभाव कम हुदै गईरहेको परिपेक्षमा एनआरएन यूकेको यस सम्बन्धि अभियान उत्तरार्धमा पुगेको समिक्षा गर्दै मातृभूमि नेपाल तर्फ सहयोग गर्ने बारे समेत छलफल गरिएको थियो ।
संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले एनआरएन यूकेको कोभिड–१९ सहयोग अभियानको संयोजन गरेका डा.सुनिल शाह, स्टेरिंग कमिटी अन्तर्गत अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, विद्यार्थी विभाग संयोजन गर्नु हुने उपाध्यक्षद्वय रोजिना प्रधान राई, सुनिल बाबु खड्का, गोर्खा विभाग प्रेम गाहा मगर, अनुवाद तथा दस्तावेज संयोजक नारायण कंडेल, राज्य समन्वय विभाग राम चन्द्र पोख्रेल, मोहन कार्की आर्थिक संयोजन कोषाध्यक्ष तेजेन्द्र रोका मगर, इंगल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ, गो फन्ड संयोजनमा सहकोषाध्यक्ष शकुन्तला गुरुङ, ज्ञानेन्द्र आले सहित सम्पूर्ण कार्यसमिति नेपाल फर्काउ अभियानको सफल संयोजन गरेका उपाध्यक्ष राम चन्द्र पोख्रेल, मोहन कार्की इंगल्याण्ड राज्य परिषद्का सचिव गोविन्द खरेल, हेल्प लाईन संयोजन सचिव जीत रानाभाट, कृष्ण ढकाल, सदस्य हेम गुरुङ, टेक्निकल सहयोगमा सदस्य ह्यारी गुरुङ लगायत सम्पूर्ण कार्यसमिती, राज्य परिषद समिति, विभागीय समिति, आईसीसी सदस्य, मानार्थ सदस्य, सल्लाहकार तथा संगठन आवद्ध सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, बैठकले सो अभियानमा सहयोग पु¥याएका नेप्लिज डाक्टर्स एसोसियशन यूके, नेप्लिज नर्सिंग एसोशियशन लगायत विभिन्न संघ संस्था, सहयोगदाता, स्वयंसेवक तथा समाजसेवी व्यक्तिहरुलाई धन्यवादको प्रस्ताव पारित गरिएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।