एटा संवाददाता ।
लण्डन । पर्वत मञ्च हङकङले पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङ, ढकालबारीका पहिरोपीडितलाई राहतस्वरुप ११ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत १३ जुन शनिबार राती गएको उक्त पहिरोमा परी ज्यान गुमाएका ९ जनाका परिवारलाई जनही १ लाख १५ हजार रुपैयाँ र सामान्य क्षति भएका ६ जनालाई जनही १५ हजार रुपैयाँ २७ जुलाई सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो । सो अवसरमा पीडित परिवारका सदस्यहरूलाई पर्वत मञ्च हङकङका प्रतिनिधि एवं चारभञ्ज्याङ तमु समाज, हङकङका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङ र कुश्मा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । आफ्नो लिखित सन्देश पठाउँदै मञ्चका अध्यक्ष एवं समाजसेवी दुर्गा गुरुङ “मिलन”ले हङकङबासीबाट संकलन गरेको सहयोग रकम प्रत्यक्ष रुपमा पीडित परिवारसम्म पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । अध्यक्ष गुरुङले आर्थिक सहयोगमार्फत् पीडित परिवारजनको पीडामा मल्हम लगाउने प्रयास गरेको बताए । पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले बिशेष सहयोगी संस्था तमु समाज हङकङ एवं सुकुटी ग्रुप हङकङले अभियानलाई सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
रकम हस्तान्तरणपछि बोल्दै मञ्चका प्रतिनिधि गंगाबहादुर गुरुङले प्राकृतिक विपत्तिले पु¥याएको धनजनको क्षतिले आफूहरू मर्माहत भएको भन्दै पहिरोपीडित परिवारजनको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरेको बताए । विदेशमा बसेपनि स्वदेशमा बस्ने आफ्नो घरपरिवार एवं दाजुभाइको पीडामा साथ दिन पाएको बताउँदै उहाँले भौतिक रुपमा टाढा भएपनि आर्थिक सहयोगमार्फत् दुःखमा साथ दिन उपस्थिति जनाएको उल्लेख गर्नुभयो । वडाध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङका पहिरोपीडितलाई हालसम्म देश तथा विदेशबाट झण्डै डेढ करोड रुपैयाँ जति राहत स्वरुप सहयोग आएको भन्दै आफूहरूले नगरपालिकामार्फत् एकद्वार प्रणालीबाट सहयोग संकलन गर्न खोजे पनि त्यो सफल नभएको उल्लेख गर्नुभयो । सहयोगीहरूको इच्छा अनुसार नै सहयोग आइरहेको बताउँदै उहाँले आफू जन्मेको ठाउँलाई सम्झेर पीडाका बेला सहयोग गरेकोमा पर्बत मंच हङकङलाई धन्यवाद दिए ।
कार्यक्रममा आर्थिक प्रतिनिधि जयन्द्रमान गुरुङले मञ्चका अध्यक्ष दुर्गा गुरुङ “मिलन”को लिखित सन्देश पढेर सुनाएका थिए भने कार्यक्रम सह–संयोजक गणेश गुरुङले सुकुटी गु्रप, हङकङको लिखित सन्देश पढेर सुनाएका थिए । सो अवसरमा राइजिङ स्टार युथ क्लब, पोखरा–२७, रिठ्ठेपानीका अध्यक्ष एवं समाजसेवी विष्णु गुरुङ, दुर्लुङस्थित विभिन्न संघसंस्था, आमा समूह, युवा समूह, क्लबका अध्यक्ष तथा प्रतिनिधिको एवं समाजसेवीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रम संयोजक प्रितम गुरुङ र व्यवस्थापक प्रभु गुरुङले समेत बोल्नुभएको थियो । कार्यक्रममा ९ जना मृतकमध्ये तुलबहादुर थापा र मीना थापाको छोरा सम्राट थापा र विविशा थापाका बुबा अमरबहादुर थापालाई जनही ४ जना मृतकको ४ लाख ६० हजार रुपैयाँ, दीपा थापा र विवेक थापाको जनही २ जनाको गरी २ लाख ३० हजार रुपैयाँ, कमला विक, जेनिश विक र प्रमिशा विकको जनही ३ जनाको विकास विकलाई ३ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

साथै, सामान्य क्षति भएका ६ जना भुवन गिरी, नन्दी गुरुङ, पशुपति थापा, उजेली शर्मा, हस्तदेवी पाध्या र विनोद सार्कीलाई १५ हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ राहतस्वरुप आर्थिक सहयोग वितरण गरिएको थियो । पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन” प्रमुख सक्रियता, उपाध्यक्ष भीम गुरुङ, महासचिव विद्या गुरुङ “डेविड”, सचिव मञ्जिल गुरुङ , कोष अध्यक्ष अप्पु गुरुङ र सह कोष अध्यक्ष दिपा गुरुङको सक्रियताका साथै, पर्बत मंच हङकङमा आबद्ध क्रियाशील ईकाई संस्थाहरु पर्बत पैंयूँखोला समाज हङकङ , चारभञ्ज्याङ तमु समाज हङकङ , पञ्चासे सहयोग समिति हङकङ , आर्थर डाँडाखर्क सहयोग समिति हङकङ , देउपुर देउराली समाज हङकङ , बाजुङ समाज हङकङ , पर्वत पुन मगर समाज हङकङ , भुक समाज हङकङ , संस्थागत रुपमा संकलित रकम सहयोग गरिएको हो । उक्त राहत रकम सामान्य क्षति भएका परिवारलाई ज्येष्ठ समाजसेवी कप्तान गुनबहादुर गुरुङ र श्रीमती पदमसुबा गुरुङले वितरण गर्नुभएको थियो । त्यस अवसरमा पूर्णकुमारी गुरुङको पहलमा संकलित ६४ हजार २५ रुपैयाँ राहत रकम समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मदन गुरुङले गरेको हङ्गकङ्ग निवासी समाजसेवी दुर्गा गुरुङ “मिलन” ले जानकारी दिए ।



