काठमाडौं २८ साउन । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।
भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । मङ्गलबार बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । साँझमात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । बुधबारमात्रै शवको सनाखत भएको बताइएको छ ।
पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय गएका थिए ।त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत थिए । एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उनी बेपत्ता भएको थिए । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन ।
विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिएका बानियाँ काठमाडौँ महानगरपालिका ३२ सुविधानगरमा बस्दै आएका थिए । बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत थिए ।


