खुसी जीवनको खोजी

SHARE:

भरतकुमार श्रेष्ठ

यो शीर्षकमा लेख्न र बोल्न जति सजिलै सकिन्छ यस प्राप्तिको लागि जीवन र जगत्लाई बुझेका महापुरुषहरु र दार्शनिकहरुको लेख, रचना र जीवनप्रतिको विश्लेषणलाई अध्ययन गर्दा त्यति सजिलो र त्यति कठिन पनि नभएको पाउन सकिन्छ । यो हामी साधारण मानिसको पनि अभ्यास हो । केका लागि हो जीवन ? रात दिन हामी के गर्न खोज्दै छांै ? हामी मानिस के बाट सञ्चालित छन् ?

हामी के गर्न खोजिरहेका छौं ? के को लागि हो जीवन ? हामी मानिस बिहान उठेदेखि दगुरेको दगुरै छौं । भागाभाग छ । हिँड्न रोकिएका छैनौं भनिन्छ आधुनिक सहरका मानिसहरुसँग प्रेम गर्न समेत फुर्सद हुँदैन ।
आखिर यो सबै केका लागि ? खुसीको लागि या आत्मसन्तुष्टिको लागि ? के पायो भने हामी मानिस खुसी हुन्छौ होला ? के प्राप्त भयो भने हामी सन्तुष्ट हुन्छौ होला ? अब मलाई यो पुग्यो म सन्तुष्ट भए किन हुँदैन होला ? के पाइयो भने तृप्त भइन्छ होला ?

प्रस्तुत यी प्रश्नहरु मानवीय जीवनका महत्वपूर्ण प्रश्नहरु हुन् र यसको निराकरण गर्न सक्नु अझ बढी महत्वपूर्ण हो । हामी मानिस अँध्यारोमा हिँडिरहेका छांै । गन्तव्य पनि थाहा छैन । तर पनि हिँडिरहेका छांै ।
हिँड्न भने रोकिएका छैनौं । हामीलाई के लाग्छ भने धेरै पैसा कमाइयो भने खुसी भइन्छ कि ? तर कति पैसा कमाइयो भने खुसी भइन्छ त् त्यो भने थाहा छैन । त्यस्तै सम्बन्ध राम्रो भयो भने खुसी भइन्छ कि हामी सम्पत्ति, सम्मान, सम्बन्ध, स्वास्थ इत्यादिमा हिँडिरहेका छौं ।

के पाइयो भने हामी खुसी भइन्छ ? के भयो भने सन्तुष्ट भइन्छ त्यो हामीले आजसम्म पाएका छैनौं । यसरी जीवनको यात्रा अन्योलमा बितिरहेको छ । जस्तो भनौ हामी बच्चा थियौ कति खुसी थियौं । के त्यतिबेला सम्पत्ति थियो र ? के बच्चासँग सम्पत्ति भएर खुसी भएको हो र ? बच्चा अवस्थामा मान, सम्मान, सम्पत्ति, केही पनि थिएन तथापि खुसी थियांै । बच्चा अवस्थामा कसैले तपाई, हजुर भनेर पनि बोलाउने थिएनन्, कसैले मान, सम्मान पनि गर्ने थिएनन् तर पनि कति खुसी थियौ । र, पनि हामी मानिस खुसी थियौ । जब ठूलो हुँदै गयौ मान, सम्मानको लागि, इज्जत प्रतिष्ठाको लागि प्रयत्न गर्दै गयौ ! सम्बन्ध पनि राम्रो बनाउँदै गयौ किनभने चेतनमनले सम्बन्धलाई राम्रो बनाउने प्रयत्न ग¥यो । जब बुझ्ने भयौ मान, सम्मान र सम्बन्धलाई पनि आफ्नो स्थानमा राख्न जान्ने भयौ तर आदि इत्यादि बच्चा अवस्थामा केही पनि थाहा थिएन यद्यपि खुसी थियांै । बुझ्ने भएपछि के खान हुने के खान नहुने थाहा हँुदै गयो ! मान, सम्मान पनि पाउँदै गयौ । तर पनि खुसी छैन । खुसीको खोजीमा झन् झन् दु:खको सामना गर्दैछौ ।

जति जति कमाई बढ्दै छ उति उति दु:ख बढ्दै छ । काम गरेको खुसी र सुख प्राप्तिको लागि तर झन् झन् दुख बढ्दै छ । किन हामीलाई दु:खको अनुभूति भइरहेको छ ? किनभने गलत बाटोको यात्राले हामी मानिसलाई दुखी बनाइरहेको छ । हामीलाई दु:ख दिइरहेको छ । हाम्रो मनलाई दुखी बनाइरहेको छ । के कसैले दुखी हुनको लागि काम गर्छ र ? के कसैले दु:ख पाउनको लागि काम गर्छ र ? सबै मानिसले सुख र सन्तुष्टि प्राप्त गर्नको लागि काम गरिरहेका छन ।
हामी मानिस बिहानदेखि बेलुकासम्म र बेलुकादेखि बिहानसम्म कोहीकोही त १ हप्ताभरिमा १, २ दिन मात्र सुत्ने गरेको देखेको छु । यो सबै के का लागि ? सुखको लागि, सुखबाट प्राप्त हुने खुसीको लागि हैन र ? तर पनि सुख प्राप्त भइरहेको छैन ।
यदि यो बाटोबाट खुसी प्राप्त भइरहेको छैन भने अहिले नै यतिबेला नै जीवनको यात्रा बदल्नु पर्दछ । यतिका वर्षसम्म हिँडेको बाटोमा खुसीको अनुभूति भएन अब मेरो जीवनको यात्रा अर्कै बिन्दुबाट सुरु गर्नु पर्दछ । म को हँु ? मैले के गर्न सक्दछु ? मैले यो किन गर्न सक्दिनँ ? यसको समाधानको लागि मैले के के गर्नु पर्दछ ।

वास्तवमा यसको प्रश्न आफैसँग छ र उत्तर पनि । हामीले जहाँ सुख छैन त्यहाँ सुख खोज्नु जहाँ सुविधा छैन, त्यहाँ सुविधा खोज्नु नै हाम्रो कमजोरी हो ।

सुख र सुविधामा नितान्त फरक छ । हामीले यसलाई बुझ्न सकिरहेका छैनौ । सुविधा भौतिक संसारबाट प्राप्त हुन्छ । जस्तो भनौं पैदल हिँड्ने गरेको मानिसको लागि गाडी सुविधाको वस्तु हो । कयांै दिन कयांै वर्ष, महिनासम्म हिँडेर यात्रा गर्नु पर्ने ठाउँमा जहाजले एकै छिनमा पु¥याइदिन्छ । जति पनि मानव निर्मित चिज र वस्तुहरु छन् यस धर्तीमा यी सबैबाट सुविधा मात्र प्राप्त हुन्छ । सुख प्राप्त हुँदैन ।

मानिसद्वारा निर्मित चिज र वस्तुलाई पैसाले किनिन्छ यो केका लागि ? आवश्यकता पूर्तिको लागि । मानिसले भन्ने गरेको र देख्ने गरेको आवश्यकता भनेको सुविधा भोग हो । सुविधा भोग गर्दै गर्दा सुख र खुसी प्राप्त गर्न सकिन्छ भन्ने गलत बुझाईमा हामी अधिकांश मानिसहरु हिँडिरहेका छौं । यो मानिसले हिँडिरहेको जीवनको अँध्यारो बाटोको यात्रा हो ।

गलत बाटोमा यात्रा गरेपछि कसरी गन्तव्यमा पुगिन्छ र ? के सुविधा प्राप्त हुँदैमा सुख र खुसीको अनुभूति होला ? के यस धर्तीका धनाढ्य भनेर कहलिएका मानिसहरुलाई पैसाले पुग्यो अब भनेका छन् र ? तिनैलाई झन् बदी पैसा चाहिएको छ । तिनैलाई सुखको निद्रा छैन खुसीको निद्रा छैन ओछ्यान भने निकै सुविधाजनक होला । हो सुविधाबाट साना, मसिना खुसी त मिल्न सक्ला तर यी खुसीहरू कर्कलाको पानी जस्तै हो । यसरी भौतिक वस्तुबाट प्राप्त गरिने साना, तिना सुविधाले जीवनमा अलिकति सहजता, अलिकति सजिलोपनको महसुस गर्न सकिएला तर त्यो पानीको फोका जस्तो अस्थायी हुन्छ । किनभने सुख र खुसीको श्रोत
अन्यत्रै छ ।
हामीले थाहा पाएनौं अथवा जानेनौं भनौ सुखको घर कहाँ छ ? यो कुन कुनामा लुकेर बसिरहेको छ ? यो गर्‍यो हुँदैन त्यो गर्‍यो हुँदैन । यसो गर्‍यो हँुदैन । त्यसो गरे पनि हुँदैन । सुख प्राप्तिको लागि हामी मानिस हिँडिरहेका छांै । तर सुख भागेकोभग्यै छ ।
खुसी प्राप्तिको लागि महान् दार्शनिकहरुले जीवनमा गरिने संघर्षलाई मुख्यतया ७ प्रकारमा विभाजित गरिदिएका छन् !
१. गाँस, बास र कपासको परिपूर्तिको चरण ।
२. भोगको आवश्यताको चरण : यस चरणमा प्रवेश गर्दा मानिसलाई खाएर, लगाएर मात्र पुग्दैन रमाइलो पनि गरौं है भन्ने चाहना हुन्छ ।
३. अस्तित्व प्रदर्शनको चरण : यो चरणमा प्रवेश गर्दा मानिसले म पनि केही हुँ है मैले पनि केही जानेको छु भनिकन आफूलाई प्रदर्शन गर्न चाहन्छ ।
४. प्रेमको खोजी : यो चरणमा प्रवेश गर्दा मानिस प्रेम भोगी हुन्छ । आफूलाई प्रेममा समाहित गर्न चाहन्छ । यसमा दया, माया, करुणाजस्ता भावनाबाट मानिस प्रभावित हुन्छन् । त्यसैले भन्छन् पनि
मनको जहाज कहाँ पुग्छ ठोकिन्छ !
तिमीबिना यो मुटु रोकिन्छ !!
५. ज्ञानको चरण : यो चरणमा मानिस अलिबदी ज्ञानी बन्न चाहन्छ । ज्ञानी बन्नको लागि थप अध्ययन गर्न चाहन्छ
६. संकल्पवानको चरण : यो चरणमा मानिसले आफूलाई पूर्णरुपमा इमान्दार देखाउन चाहन्छ । आफूले बोलेको पूरा गर्न चाहन्छ ।

७ मुक्तिको आकांक्षाको चरण : यो चरण जीवनमा खुसी प्राप्तिको लागि मानिसले संघर्ष गर्ने चरण हो । यो चरणमा मानिसले जीवनमा मुक्ति प्राप्त गर्ने हुनाले अति महत्वपूर्ण चरण मानिन्छ । यस चरणमा प्रवेश गर्दा मानिसले जीवन र जगतको बारेमा बुझ्न चाहन्छ । यसरी मानवीय जीवनमा व्यक्ति विकास भएको पाइन्छ ।

यसरी जीवनमा खुसी प्राप्तिको लागि मानिसले एउटा चरण पारगरिसकेपछि अर्को चरणमा पार गर्दै जानु पर्दछ । यसकारण सुखी जीवन खुसी जीवन जीवनकै अन्तिम भन्न सकिन्छ ।
सुख, खुसी सन्तुष्टि यी सबैको समिश्रण नै खुसी हो । यसभित्र सुभोजन, सुस्वास्थ र सुशिक्षा सबै पर्दछन् । तर यसको प्राप्ति कसरी हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो ।

हामीले जीवनभर खुसी प्राप्तिको लागि काम गरिरहेका छौं तर दु:ख प्राप्त भइरहेको छ । यसबाट के प्रस्ट हुन्छ भने हाम्रो जीवनको यात्रा गलत गन्तव्यतिर हिँडिरहेको छ त्यसैले त सुख र खुसी प्राप्तिको खोजीमा दु:खको सामना गर्न परिरहेको छ । यसको मुख्य कारण के हो भने मनको व्यवस्थापन गर्न नसक्नु ।

त्यसैले अधिकांश हामी मानिसहरुले आफ्नो मनको व्यवस्थापन आफैंले गर्न जरुरी छ । हो त्यसकारण अब हामी आफ्नो मनभित्र फर्कनु पर्दछ । जबसम्म मनको व्यवस्थापन हुँदैन तबसम्म धनले पनि सुख दिन सक्दैन । मानसम्मानले पनि सुख र खुसी दिन सक्दैन ।

भौतिक चिज, बिजले पनि सुख दिन सक्दैन । साधारणतया हामी मानिसहरु आफूलाई हेर्न चाहँदैनौं । सधैं अरुलाई मात्रै हेर्न मन पार्छौ । यो मानवीय स्वभाव पनि हो किनभने हामी मानिस बच्चा हुँदादेखि नै बाहिरी चिज र वस्तुलाई हेरेर नै आइरहेका हौं । जस्त्यो भनौं बच्चाले बिजुली बत्ति देख्दा हेरिरहनु । जब हामी मानिस अरुलाई हेर्न थाल्दछौं तब समस्या सुरु हुन्छ । किनभने अरुलाई हेर्दा अरुको समस्या देखिन्छ ।

त्यसैले आफूले आफूलाई हेरिएको खण्डमा आफ्नो समस्या देखिन्छ । सबै मानिस जन्मदेखि नै आ–आफ्नो स्वभाव र गुण बोकेर आएका हुन्छन् । त्यसैले अब यहाँ कसले भनेको कसले मान्नेवाला छ र ।

सबैजना आफू ठीक अरु बेठिक देख्छन् । हो त्यसैले अब आफूलाई हेर्नु पर्दछ । जब आफूलाई हेरिन्छ तब आफ्नो गल्ती देख्न सकिन्छ । अरुलाई हेर्दा अरुको गल्ती देखिन्छ ।
आफूले आफैंलाई हेर्न त्यति सजिलो छैन जति अरुलाई हेर्न छ । हामीले जन्मदादेखि नै सुन्दा, बोल्दा, हिँड्दा, अनुभव र अनुभूति गर्दा पनि बाहिर कै भौतिक वस्तुहरुबाट धेरै हुने गर्‍यो । हामीले हामीभित्र पनि केही सम्पदाहरु छन् भन्ने कुरा भुल्यौ । त्यतातिर हाम्रो ध्यान गएन । अब हामीले हामीभित्र भएका सम्पदाहरूमा ध्यान लगाउनु पर्दछ ।

आफूतिर फर्कने विद्यालाई ध्यान भनिन्छ । ध्यान गर्ने मानिसले आफूभित्रको प्रतिभा, ज्ञान, वुद्धि र विवेकलाई सजिलै चिन्न सक्दछ । वास्तवमा प्रेमभावले ध्यान गरेपछि अहिले यतिबेलाको समय नै खुसी लाग्दछ । यही खुसीभित्र स्वर्ग छ । यही मनमा छ स्वर्ग, यही मनमा छ शान्ति, यही मनमा छ खुसी त्यसैले यो तृप्ति प्राप्तिको खोजि गर्नु नै जीवनमा खुसीको खोजि
गर्नु हो ।

(लेखक : पोर्तुगल नेपालमैत्री संघका भूतपूर्व कूटनैतिक निर्देशक, पोर्तुगल, नेपाल, कला संस्कृति तथा साहित्य सञ्चार परिषद्का भूतपूर्व उपाध्यक्ष हुन् । हालको बसाइँ : फानबोरो, बेलायत)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!