विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सर्वत्र क्षेत्रमा प्रभाव परेको छ । भलै पछिल्ला दिनमा असमान्य स्थितिलाई पनि सामान्यकरणतिर लैजाने प्रयास विभिन्न मुलुकमा गरिएका छन् । भइरहेका छन् । भाइरसको आतंकका कारण विश्वका कतिपय मुलुकले गरेका लकडाउनले गरी खाने वर्ग निकै मारमा परेका छन् । जसको ज्वलन्त उदाहरण पछिल्लो समय नेपालको राजधानी काठमाडौंमा देखिएका ‘सडक खाना खुवाइ’ । जुन कार्य गैरसरकारी संस्था र व्यक्तिहरुले गर्दै आएका छन् । जसले नेपाल सरकारको नांगो चरित्र दर्साउँछ भने मजदुरको रियल अवस्था छ्याङ्ग पार्दछ ।
सन् २०१९ को डिसेम्बरमा चीनको उहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । यसको संक्रमणबाट पछिल्लो तथ्यांकअनुसार १० लाख २१ हजारभन्दा बढीको मृत्यु, ३ करोड ४२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । यसको सकारात्मक भन्ने हो भने २ करोड ३७ लाख भन्दा बढी निको भएर घर फर्किए सकेका छन् ।
नेपालको अवस्था हेर्ने हो भने ५ सय ९ को मृत्यु, ७९ हजार ७ सय २८ संक्रमित र निको हुनेको संख्या ५७ हजार ३ सय ८९ रहेको छ । ९ महिना कोरोना भइसके पनि विश्वका कुनै पनि मुलुकले प्रभावकारी भ्याक्सिन विकास गर्न सकेको छैन । यही अन्तरालमा यो रोग न त मत्थर हुँदै गएको नै छ । बरु विभिन्न मुलुकमा झन् बढेको देखिन्छ भने बेलायत लगायतका मुलुकमा दोस्रो लहरको चेतावनी समेत दिइएको छ । यसले गर्दा अर्थतन्त्र तहसनहस पारेको छ भने अति विपन्न र मजदुर वर्गको जीवन नै कठिन मोडमा पुगेको छ ।
यो समस्या ग्रस्त कहिले टुंगिन्छ भन्ने कसैले यकिन गर्न सकिरहेको छैन । सक्दैन पनि । यो संकटलाई सचेततापूर्वक फेस गर्नुको विकल्प छैन । जसमा स्वास्थ्य प्रोटोकल पालना गर्नु हो । अब बच्ने कुरामा रोगबाट टाढा रहने त पर्छ नै मुख्य कुरा खानाको जोहो अत्यावश्यक हुन्छ । विशेष गरी विकासोन्मुख नेपालजस्ता मुलुकका अति विपन्नका लागि राज्यले हातमुख जोर्ने व्यवस्था गर्नै पर्छ ।
संविधानले नागरिकको गाँस, बास, कपासको प्रत्याभूति गरेको छ । तर सरकारले नागरिकलाई तड्पाइ तड्पाइ बाँच्ने र आत्महत्या जस्ता दुरुत्साहनको वातावरण क्रियट गर्न गरी कानमा तेल हालेर बस्नु हुँदैन । सरकारले देश र नागरिकको सुरक्षा गर्नु प्रमुख दायित्व भएकाले तत्काल राहत व्यवस्था गरेर हुन्छ वा सुरक्षित मापदण्डबाट सञ्चालन हुने रोजगारीबाट आम्दानीको ग्यारेन्टी गर्नुपर्छ । सरकारले दायित्व निर्वाह गर्नुका साथै स्वयम् नागरिकले पनि आफ्नो सुरक्षाका लागि कामधामको र सके सानोतिनो व्यवसायको आइडियाहरु खोज्नु पर्दछ । नत्र न रह्यो बाँस न बज्यो बाँसुरीको हालत बन्ने छ । चेतना भया !