लन्डन कात्तिक २ । बीएफबीएस गोर्खा रेडियोका पूर्वस्टेशन मेनेजर तथा चर्चित रेडियो प्रस्तोता किशोर गुरुङको ८६ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पक्षघात र बाथरोगबाट पीडित गुरुङको भारतको सिलिगुडीस्थित आफ्नै निवासमा शुक्रबार राति निधन भएको उनका छोरा केवल गुरुङले जानकारी दिए । सन् १९५६ मा ब्रिटिस आर्मीमा जलपाइगुडी दार्जिलिङबाट भर्ती भएर धरान हुँदै उनी मलेसिया पुगेका थिए । मलेसियाको सेरेम्बनमा तालिम लिएका गुरुङले त्यसपछि क्वीन्स गोर्खा सिग्नल्समा सेवा गरेका थिए । उनले सन् १९६७ मा पहिलोपटक सिंगापुरमा रहेको गोर्खा फोर्सेस रेडियोमा सेवा आरम्भ गरेका थिए ।
यो रेडियो सन् १९७२ मा हङकङमा स्थानान्तरण हुँदा उनले लेफ्टिनेन्ट पदमा सम्पूर्ण जिम्मेवारी सहित हङकङमा ब्रिटिस सैनिक आकाशवाणीको गोर्खा सेवा सुरु गरेका थिए ।
सन् १९९६ अक्टोबरसम्म गुरुङले हङकङमा रेडियो प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । त्यसलगत्तै सन् १९९७ मा काठमाडौंमा बीएफबीएस गोर्खा रेडियोको कार्यालय स्थापना गर्दै स्टेशन प्रमुखको जिम्मेवारीसहित सन् २००८ मा सेवानिवृत्त भएका थिए । किशोर गुरुङ ‘बीएफ बीएस’को लोकप्रिय कार्यक्रम ‘परदेशीको सन्देश’का परिकल्पनाकार, उत्पादक तथा प्रस्तोता समेत थिए । अनौपचारिक प्रस्तुति, स्थानीयपनको झल्को तथा नेपाली परम्परागत शैलीमा उत्पादित कार्यक्रम ‘परदेशीको सन्देश’ विषयवस्तुले मात्र होइन, प्रस्तोता गुरुङको ठट्यौले शैली, मीठो आवाज र पृथक् प्रस्तुतीका कारण पनि श्रोताको मन जित्न सफल भएको थियो ।
उनी लामो समयदेखि भारतको सिलगुडीस्थित निवासमा आफ्नी जेठीछोरीको साथमा बस्दै आएका थिए । उनका एक छोरा केवल गुरुङ तथा स्मृति, सरला र शोभा गरी तीन छोरी छन् ।

तस्बिरहरुः नरजङ्ग गुरुङ


