लमजुङ समाज यूकेद्वारा पहिरोपीडितलाई २५ लाख ९० रुपैयाँ सहयोग

SHARE:

लन्डन कात्तिक ५ । पहिरोबाट घरबारबीहिन लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीबासीका लागि लमजुङ समाज यूकेले २५ लाख ९० रुपैयाँ ३० पैसा राहत सहयोग गरेको छ ।

गत साउन पहिलो साता परेको भीषण बर्षापछि बाढीपहिरो हुँदा पल्लोटारीका २१ घर पुरिएका थिए । ५० घर उच्च जोखिममा छन् । पहिरोपीडितका लागि दीर्घकालीन बासास्थान बनाउन लमजुङ घर भइ बेलायतमा बसोबास गर्दै आएका स्थानीयले राहत सहयोग गरेका हुन् । लमजुङ समाज यूकेका सल्लाहकार, तमु धीं यूके साथै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष मुछेत्र गुरुङ र लमजुङ समाज यूकेका आजीवन सदस्य क्या. मीनजंग गुरुङले उक्त रकम बराबरको चेक तरापु पल्लोटारी विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मर्स्याङ्दी ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।

राहत संकलनका संयोजक क्या. देवबहादुर घलेले २ सय ८४ जनाबाट राहत रकम संकलन गरी पहिरोपीडितका लागि पठाएको बताए । ‘तरापु पल्लोटारीमा पहिरो गएर घरबार लगेपछि हामी बैठक बस्यौं । ४ सदस्यीय समिति बनाएर राहत रकम उठाउन थाल्यौं । हामीले केही रकम पीडितको दीर्घकालीन समस्या समाधान होस् भनी पठाएका छौं’ उनले भने । लमजुङ समाज यूकेका अध्यक्ष विश्वजंग गुरुङले संघ सरकार र प्रदेश सरकारले गर्ने सहयोगमा उक्त रकम पनि समावेश गरी पीडितको स्थायी बासास्थान निर्माण प्रयोजनमा खर्च गर्न उनले आग्रह गरेका छन् ।

पूर्व सांसद जमीन्द्रमान घलेले पल्लोटारीमा पहिरो गएपछि देशविदेशमा सहयोग माग गरिएको बताए । ‘देशविदेशबाट सहयोग आइरहेको छ । सरकारले तत्काल राहतका लागि रकम उपलब्ध गराओस् । गाउँपालिकाले छिट्टै जग्गाको टुंगो लगोओस् । अनि हामी सवै घर बनाउन जुटौंला’ उनले भने । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पीडितलाई तत्कालका लागि अस्थायी टहरामा बसोबासको व्यवस्था मिलाएको बताए । ‘स्थायी रुपमा बसोबासका लागि हामी अघि बढेका छौं । संघ र प्रदेशसंग पनि सहयोग मागेका छौं । छिट्टै जग्गा व्यवस्थापन गर्छौं । बर्खा अगाडि सवैलाई स्थायी बसोबासका लागि स्थानान्तरण गराउँछौं’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संघीय सरकारबाट हरेक घर निर्माणको लागि ३ लाख रुपैयाँ प्राप्त हुने बताए । प्रदेश सरकारबाट १ लाखदेखि डेढलाख रुपैयाँसम्म सहयोग प्राप्त हुने अनौपचारिक खबर आएको बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!