लन्डन मंसिर २३ । बेलायतमा स्थापना भएको महिना दिन नबित्दै हिमालयन योगाको प्रभाव फैलिँदै गएको छ ।
नेम्वाङ मामा (नगेन्द्रराज नेम्वाङ) को अगुवाई स्थापना गरिएको हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टुडियो (Himalayan Yoga & Reiki Meditation Studio) यूकेमा सहभागीको संख्या वृद्धि हुँदै गएको हो । जहाँ योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङले नै प्रशिक्षण दिँदै आएका छन् ।
हिमालयन योगा स्टुडियो गत आइतबार ८ नोभेम्बरमा उद्घाटन गरिएको थियो । मगर संघ यूकेका पूर्वअध्यक्ष तथा एभरेस्ट टाइम्स यूकेका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा र योग प्रशिक्षक नगेन्द्र नेम्वाङले रिबन काटेर हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टुडियो यूके सुरु भएको घोषणा गरेका थिए ।
योग, ध्यानबाट ढाड दुखाइ, कम्मर, घुँडा दुखाइ, अपच, अनिद्रा, अरुचि, अल्छीपन, मोटोपन, टाउको दुखाइ, चक्कर लाग्ने, मानसिक डर, त्रास, चिन्ता, बेचैनी हुनबाट सधैंका लागि मुक्त हुन सकिने प्रशिक्षक नेम्वाङले बताएका छन् । मनोक्रान्ति प्रणेता डा योगी विकाशानन्दद्वारा उत्पादित मनोक्रान्ति दर्शन विगत २० वर्षसम्म अध्ययन गरी प्राप्त ज्ञानलाई जनमानसमा सम्प्रेषण गर्ने पनि नेम्वाङको भनाइ छ । उक्त सेन्टरमा योग सिक्न सकिने, योग सिकेर स्वस्थ रहने रेकी, दीक्षा लिएर रेकी हिलर बनी आफू र परिवारलाई रेकी हिलिङ गरी उपचार गर्न सकिने, योग प्रशिक्षक तालिम गरी इन्टरनेशनल मान्यता प्राप्त प्रमाण पत्र पनि लिन सकिने जनाइएको छ ।