काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध परस्पर सम्मान र समानताका आधारमा बेग्लै उचाइमा पुग्ने बताएका छन् ।
आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “हामी मन दबाएर होइन, सोझो हिसाबकिताबले वास्तविक मित्रता बढाउन चाहन्छौँ । ”
उहाँले भारत भ्रमण हतारमा हुन लागेको भए पनि कुनै काम नबिगार्ने गरी प्रस्तुत हुने स्पष्ट गर्नुभयो । परराष्ट्र सचिव शङ्करदास वैरागीले निर्वाचनलगत्तैको सरकारको महत्व हेरी सोहीअनुसारको तयारी मन्त्रालयले गरिरहेको बताए ।