लन्डन मंसिर २७ । बेलायतमा नेपाली सेनाका सेकेन्ड लेफ्टीनेन्ट २१ वर्षीय पिटर थापाले स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन वापत ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अवार्ड पाएका छन् ।
विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ साताको प्रशिक्षण समापनका क्रममा थापालाई शुक्रबार सो अवार्ड दिइएको हो । बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभरिन परेडका क्रममा उक्त अवार्ड प्रदान गरे । यससँगै थापाले प्लाटुन कमाण्डर पास समेत पाएका छन् ।
थापा कुनै पनि बेला यहाँ आएर स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् । थापा बेलायती सेनाको एउटामात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए ।
२ वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए ।


