काठमाडौं पुस ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव समूहका सांसदहरुको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । मंगलबार उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष एवं संसदीय दलको नेता केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको थियो । यससँगै बुधबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको जानकारी सांसदहरुलाई गराएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली संसद विघटन गरेकोले संवैधानिक रुपमा संसद विघटन नभएको बताए प्रचण्ड–माधव समूहका सांसदहरुको बैठकमा प्रतिनिधी सभा र राष्ट्रिय सभाका गरी १ सय १५ जना सांसदहरुको उपस्थिति रहेको प्रमुख सचेतक गुरुङले बताए ।
प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा
नेकपाका अध्यक्ष प्रचण्ड र नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बुझाएको छ ।
प्रचण्ड–माधव समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरु बुधबार आयोग पुगेका हुन् । नेताहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बैठकका निर्णयहरु आयोगमा बुझाएका छन् ।
नेकपाका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरु निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो । केन्द्रीय कमिटीका निर्णयहरु आयोगमा पेश गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २ सय ९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको बताए ।
उनले तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतापछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको बताए । उनले ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ती पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने बताए ।


