रुपन्देहीमा मनाइयो तमु ल्होसार कार्यक्रम

SHARE:

देवदह पुस १३ । भाषा, संस्कार, संस्कृतिको संरक्षणबिना जातीय पहिचान कायम हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नेपालमा बोलिने सम्पूर्ण जातीय भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्नेमा जोड दिएका थिए ।

तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद देवदहले ल्वा ल्होसार–२०७७ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले ल्होसार पर्वमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले अन्याय गरेको आरोप लगाएका थिए ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले विभिन्न जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्द्धनमा देवदह नगरपालिका लागि रहेको दाबी गरिन् । उनले संविधानले विभिन्न जातजातीको अधिकार सुनिश्चित गरेको बताउँदै त्यसलाई कार्यान्वयन गर्नको लागि सवै लाग्नु पर्ने बताइन् । उपप्रमुख गुरुङ्गले राजनीति विना समाज रुपान्तरण गर्न नसकिने बताउँदै सबैले राजनीति बुझ्न आवश्यक रहेकोमा जोड दिइन् । उनले जबसम्म राजनीतिक रुपमा अगाडि बढ्दैन तबसम्म संविधानमा उल्लेख गरिएका अधिकार स्थापित गर्न नसकिनेमा जोड दिइन् ।

उनले विभिन्न जातजातीको पर्वमा स्थानीय तहले सार्वजनिक बिदा दिने अधिकार नभएको बताइन् । उनले युवापिढीहरुलाई सीपमूलक तालिम प्रदान गरेर स्वदेशमै रोजगारी सृजना गर्ने गरी स्थानीय तह लागिरहेको बताइन् ।

कार्यक्रममा बोल्दै तमु भाषा तथा खेमालिपी अभियानता भिम गुरुङ्ले नेपालमा बोलिने सबै मातृभाषा देशकै राष्ट्रिय भाषा भएको बताउँदै तमु भाषाले गुरुङको पहिचान दिनेमा जोड दिए ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद देवदहका अध्यक्ष टौंबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका सचिव ओमप्रकाश गुरुङ, तमु विद्यार्थी संघका केन्द्रीय सदस्य सञ्जय गुरुङ, नेपाल मगर संघ देवदहका अध्यक्ष खरसिंह श्रीष, देवदह नगरपालिका–७, का वडाअध्यक्ष पदम थापा, ६, का वडाअध्यक्ष दामोदर क्षेत्री, २, का वडाअध्यक्ष धर्मागत पाण्डे, नेपाल आदिवासी जनजाति महासंघ देवदहका कार्यवहाक अध्यक्ष मिना श्रेष्ठ, चरेङ्गे इकाई समितिका अध्यक्ष अशोक गुरुङ, माङ्गी आमा समूहका अध्यक्ष सावित्री गुरुङ, तमु युवा छोंज धीका विश्व गुरुङ लगायतले आ–आफना भनाइ राखेका थिए ।

परिषद्का उपाध्यक्ष मानबहादुर गुरुङ्गको स्वागत, पूर्व जिल्ला सदस्य दुरमान गुरुङ्गको धन्यवाद ज्ञापन र सचिव सरीमाया गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तमु सांस्कृतिक कार्यक्रम र स्योकै पनि गरिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!