नेपालमा राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

SHARE:

काठमाडौं पुस १७ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुक्रबार पुस १७ का लागि आह्वान गरेकी थिइन् । बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठक शुरु भएका सन्दर्भमा विभिन्न दलका नेताबाट सम्बोधन भएको छ ।

शोक प्रस्ताव पारित
राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । स्व सांसदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारणा गरिएको थियो ।

बैठकले प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यत्रय मेजर दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र प्रा डा राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं विसं २०६३÷६४ को अन्तरिम व्यवस्थापिका संसदका पूर्वसदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

राष्ट्रियसभामा सात अध्यादेश पेश
बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ बैठकमा पेश गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेश गरेका हुन् ।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गरिएको छ । उक्त अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा पेश गरेका हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गरिएको छ । उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेश गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही पुस २३ गते दिउँसो १:०० बजे बस्नेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!